निजी आवास अनुदानको किस्ता लिन नयाँ डेडलाइन

काठमाडौं, १८ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडित आवास अनुदान रकम बुझ्ने समयसीमा तोकेको छ ।

शुक्रबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले विविध कारणवश किस्ता लिन नसकेका लाभग्राहीलाई कात्तिक मसान्तसम्मको समयमा किस्ता लिन अनुरोध गरेको हो । जस अनुसार लाभग्राहीहरुले कार्तिक मसान्तभित्र तेस्रो किस्ता लिनेगरी घर पुनर्निर्माण गर्नु पर्ने भएको छ ।

यसअघि, २०७८ असार १० गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समितिको बैठकले कार्तिक मसान्तसम्मलाई निजी आवास अनुदान लिने अन्तिम समयसीमा निर्धारण गरेको थियो ।

उक्त बैठकले प्राधिकरणको वर्तमान संस्थागत संरचना र कार्य प्रणालीउक्त अवधिसम्म निरन्तर रहने पनि निर्णय गरेको थियो ।

बैठकले त्यस्ता पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीहरुलाई सम्बन्धित स्थानीय तहमा यथाशीघ्र निवदेन दिन अनुरोध गरेको हो ।

अनुदान सम्झौता गर्न वा बाँकी किस्ता प्राप्त गर्न लाभग्राहीले प्राधिकरणले तयार गरेको कबुलियतनामा फारम भर्नुपर्नेछ ।

लाभग्राही प्राधिकरणले तोकेको मापदण्ड र समयसीमा अनुसार पुनर्निर्मण गर्न मञ्जुर हुनुपर्नेछ । त्यसलाई सम्बन्धित वडा अध्यक्षले सिफारिस समेत गर्नु पर्नेछ ।

भूकम्पबाट क्षति भएकामध्ये ६ लाखभन्दा बढि निजी आवासको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुसार हालसम्म ६ लाख ११ हजार २४१ घर निर्माण सम्पन्न भएको हो ।

७ लाख ५७ हजार ३९४ घर बन्दै गरेको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले १० लाख ३७ हजार २९१ घरको सर्वेक्षण गरिएकामा आठ लाख ६५ हजार ४८२ भूकम्पपीडित लाभग्राही सूचीमा समावेश भएका थिए ।

लाभग्राही सूचीमा समावेश भएकामध्ये ६५ हजार ६२ प्रवलीकरण गर्ने गरी प्रमाणीकरण गरिएको छ । हालसम्म ८ लाख १४ हजार ३२४ लाभग्राहीले अनुदान सम्झौता गरिसकेका छन् ।

जसमा ८ लाख १४ हजार ३२४ लाभग्राहीले पहिलो किस्ताको रु ५० हजार लिएका छन् । जग निर्माण सम्पन्न गरी ७ लाख २२ हजार ४९६ लाभग्राहीले दोस्रो किस्ता लिएका छन् । घर निर्माण सम्पन्न गरी ६ लाख ६० हजार २४६ ले तेस्रो किस्ता अनुदान लिएको प्राधिकरणले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here