जङ्गली च्याउ खाएर ६ को मृत्यु

पाल्पा, ३१ जेठ । निस्दी गाउँपालिका पाल्पामा जङ्गली च्याउको तरकारी पकाएर खाएर बिरामी परेकामध्ये ज्यान जानेको सङ्ख्या ६ पुगेको छ ।

गत शुक्रबार च्याउ खाएर केही बिरामी भएका थिए । जङ्गली विषालु च्याउको तरकारी पकाएर खाएकामध्ये निस्दी – ३ सार्कीडाँडाका नौ वर्षीया निर्मलासिं ठुकरी, चारवर्षीय विष्णुसिं ठकुुरी, सातवर्षीय सुमनसिं ठकुरी, निशासिं ठकुरी, निरुतासिं ठकुरी र ४५ वर्षीय पुरन खाम्चाको निधन भएको सङ्घीय सांसद दलबहादुर रानाले जानकारी दिए ।

बिरामीमध्ये निर्मलाको मध्यविन्दु अस्पताल नवलपरासी विष्णुको पुरानो मेडिकल कलेज भरतपुर तथा अन्यको काठमाडौंँका विभिन्न अस्पतालमा निधन भएको हो । नजीकैको जङ्गलबाट खोजेर ल्याइएको च्याउ पकाएर तरकारी खाएका सार्कीडाँडाका ११ जना बिरामी परेका थिए ।

बिरामीकाे नवलपरासीको मध्यविन्दु अस्पताल, मनकामना अस्पताल तथा पुरानो मेडिकल कलेज भरतपुर, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडाैँलगायत काठमाडौंँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बिरामी ८० वर्षीय प्रेमसिं ठकुरी उपचारपछि घर फिर्ता भएका छन् । अन्य बिरामी ३६ वर्षीया चनकुमारी खाम्चा, उनकी छोरी १५ वर्षीया विमला, ३० वर्षीया दानमायासिं ठकुरी र धनकुमारी सिंको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

पाल्पा सदरमुकाम तानसेनदेखि करीब ७० किमी पूर्व सार्कीडाडाँका विकटका चार परिवारका सदस्य बिरामी परेका हुन् । प्रतिनिधिसभा सदस्य रानाले गृह मन्त्रालयबाट मौखिक निर्णय गराई बिरामीको निःशुल्क स्वास्थ्योपचारको पहल भएको जानकारी दिए ।

बिरामी तथा ज्यान जानेको परिवारमा सहयोगका विषयमा छलफल तथा बिरामीको स्वास्थ्यावस्था सन्दर्भमा आज कावा प्रधानमन्त्री ईश्वर पोखरेलसँग छलफल हुने सांसद रानाले बताए ।

आर्थिक अवस्था कमजोर भएका बिरामी परिवारलाई अस्पतालमा भेट्न पुगेका सांसद रानाले मृतकका परिवारलाई उचित राहत प्रदान गर्न र बिरामीको सबै स्वास्थ्योपचार सेवा सरकारबाट व्यहोर्न पहल गरिएको जानकारी दिए ।

उनले पटक पटक पाल्पाका विकट भेगमा च्याउ खाएकै कारण ज्यान जाने खतरा यसअघि पनि भएकाले च्याउ खाँदँ सचेत रहन आग्रह गर्दै मृतकप्रति श्रद्धाञ्जलिका साथ सबै विरामीको स्वास्थ्यलाभको कामना गरेका छन् । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here