साउनदेखि सवारी लाइसेन्सको लिखित र ट्रायल परीक्षा खुल्ने

फाइलफोटो

जितेन्द्र खनाल

काठमाडौं, २५ असार । सवारी लाइसेन्सका लागि लिखित परीक्षा र ट्रायल परीक्षा करिब ७ महिनादेखि ठप्प छ । कोरोना भाइरस (कोभिड-१९) को महामारीसँगै प्रदेशहरुले आफ्नो यातायात कार्यालयमार्फत नयाँ लाइसेन्स वितरण गरेका छैनन् ।

कोरोना नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा खुकुलो हुँदैगएसँगै सवारी साधन चालक अनुमतिपत्र आवेदन र ट्रायल परीक्षा साउन १ गतेबाट पुन सञ्चालन हुने सम्भावना बढेको यातायात व्यवस्था विभागले जनाएको छ ।

बिहीबार मन्त्रालयसँग भएको छलफलमा सकारात्मक पक्ष देखिएको कारण विगत ६ महिनादेखि रोकिएको लिखित र ट्रायल दुबै परीक्षा साउन १ गतेबाट खुल्ने सम्भावना देखिएको विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।

‘ड्राइभिङ लाइसेन्सको आवेदन र ट्रायल परीक्षा सञ्चालन गर्नको लागि हामी निरन्तर प्रयासमा छौं । बिहीबार मन्त्रालयसंग भएको छलफमा केही सकारात्मक पक्ष देखिएको छ ।’ महानिर्देशक घिमिरेले क्लाउड पत्रिकासँग भने, ‘आइतबार पनि यसै विषयमा मन्त्रालयमा छलफल रहेको छ । अहिलेसम्मको छलफललाई विचार गर्दा ड्राइभिङ लाइसेन्सको आवेदन र ट्रायल परीक्षा साउन १ गतेबाट खुल्छ ।’

सिडियो कार्यलयको निर्णयले अन्यौल

काठमाडौं सिडियो कार्यलयको निर्णयको कारण भने केही अन्यौल सिर्जना गरेको कुरा महानिर्देशक घिमिरे बताउँछन् ।

‘सिडियो कार्यलयको पछिल्लो निर्णयले भने केही अन्यौल सिर्जना गरेको छ । एक पटकमा २५ जानभन्दा बढीलाई परीक्षामा सामेल नगर्नु भनेको छ । तर, ट्रायल परिक्षामा यो सम्भव छैन्, २५ जना त परीक्षा लिने नै हुन्छन् ।

त्यसकारण कम्तीमा पनि १०० जनाको सहभागित हुने निश्चित छ । यस विषयमा पनि हामी छलफल गर्दै छौं ।’ महानिर्देशक घिमिरेले बताए ।

लोकसेवा आयोग तथा अन्य विश्वविद्यालयको परिक्षा समेत तोकिएको कारण साउन १ गतेबाट पूर्ण रुपमा निषेधाज्ञा हट्ने सम्भावना रहेको कारण पनि रोकिएको सवारी साधन चालक अनुमतिपत्रको आवेदन र ट्रायल परीक्षा साउन १ गतेबाट खुल्ने विभागले बताएको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि गत पुस २७ गतेबाट अर्को सूचना प्रकाशन नहुँदासम्मको लागि आवेदन र ट्रायल परीक्षा बन्द गरिएको थियो ।

सवारी चालक ‘लाइसेन्स’ परीक्षाको तयारीमा हुनुहुन्छ ? यस्तो छ नयाँ पाठ्यक्रम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here