काठमाडौं, ३१ असार । माछापुच्छ्रे बैंकले आज (असार ३१ गत) देखि ३० लाख इकाई ऋणपत्र विक्रीखुला गरेको छ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरले ३ अर्ब बराबरको ३० लाख कित्ता ‘८.५% माछापुच्छ्रे ऋणपत्र २०८७’ विक्रीमा ल्याएको हो ।
निष्काशित कुल ३० लाख ऋणपत्रमध्ये बाँकी १८ लाख कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई विक्री गर्नेछ भने बाँकी १२ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यस ऋणपत्रमा लगानी गर्नेले वार्षिक ८.५ प्रतिशत ब्याजदर पाउनेछन् । ऋणपत्रमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै ऋणपत्र विक्री नभएमा साउन १७ गतेसम्म आवेदन दिन पाइनेछ ।
लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । ऋणपत्रमा धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरोसेयर मार्फत आवेदन दिन सकिनेछ ।
ऋणपत्रको विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।