‘सिस्टर सिटी’ छेङ्दुले काठमाडौंलाई दियो सवा दुई करोड मुल्यका दुईवटा ब्रुमर

काठमाडौं, १ असार । काठमाडाैंसँग भगिनी सम्बन्ध स्थापित गरेकाे चीनको छेङ्दु शहरले काठमाडौं महानगरपालिकालाई युरो ५ मापदण्डका दुईवटा ब्रुमर दिएको छ ।

आइतबार एक समाराेहका बीच छेङ्दुका प्रतिनिधिमण्डलले काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई ब्रुमर हस्तान्तरण गरेका हुन् ।

भन्सार शुल्क बाहेक दुई करोड २७ लाख ३ सय ७२ रुपैयाँ रहेको ब्रुमरले सडकको अवस्था अनुसार प्रतिघण्टा ३ देखि २० किलोमिटरसम्म सफा गर्ने बताईएको छ ।

ब्रुमरकाे प्रयाेग धुलो र पात पतिङ्गर संकलन गर्न प्रयोग गर्न सकिने र यसले काठमाडाैंकाे वायुप्रदुषण घटाउन समेत सहयाेग गर्ने महानगरपालिकाकाे विश्वास छ ।

दुवै ब्रुमरमा ७ घनमिटर धुलो संकलन गर्ने र ९ घनमिटर पानी बोक्ने क्षमता रहेको छ । महानगरको मेकानिकल शाखाका प्रमुख प्रमोद डंगोलका अनुसार ८.६ मिटर लम्बाइ र ३.५ मिटर चौडाईका ब्रुमरमा २ वटा इञ्जिन छन् ।

ब्रुमरमा गाडी सञ्चालन गर्ने इञ्जिनको क्षमता १५५ किलोवाट छ भने ब्रुमर चलाउने इञ्जिनको क्षमता ११८ किलोवाट रहेको महानगरपालिकाले बताएकाे छ ।

डिजेलबाट चल्ने ब्रुमरहरुको तौल १५.८ मेट्रिक टन रहेको छ । यी ब्रुमरहरुले सडक सफाइ गर्दा धुलो उड्दैन् । सडक सफा गर्नुभन्दा पहिले पानी छर्केर धुलो नउड्ने बनाएपछि धुलो तथा पतिङ्गर तान्ने काम यी ब्रुमरहरुले गर्दछन् । ब्रुमरको गति ९८ किलोमिटर प्रतिघण्टा रहेको छ ।

चीनकाे सिचुवान प्रान्तकाे राजधानी छेङ्दु र काठमाडाैंबीच तीन वर्ष अगाडि भगिनी सम्बन्ध स्थापना गरिएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here