११ महिनामा ३ खर्ब ३२ अर्ब बढीको धितोपत्र सूचीकृत, पुँजीकरण ४२ खर्ब नाघ्यो

काठमाडौं १ साउन । आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा रु. ३ खर्ब ३२ अर्ब बढीको धितोपत्र नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/०७८ को ११ महिनासम्मको तथ्यांक अनुसार ११ महिनामा ३ खर्ब ३२ अर्ब ८७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ ।

यस्तै ११ महिनामा रु.२ खर्ब १९ अर्ब ९५ करोड बराबरको विकास ऋणपत्र, रु.४३ अर्ब ५८ करोड बराबरको बोनस शेयर, रु.४२ अर्ब १७ करोड बराबरको साधारण शेयर, रु.१७ अर्ब ५५ करोड बराबरको डिबेन्चर, रु.५ अर्ब ५२ करोड बराबरको हकप्रद शेयर र रु.४ अर्ब १० करोड बराबरको म्युचुअल फण्ड धितोपत्र सूचीकृत भएको हो ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.२० अर्ब ५४ करोड बराबरको डिबेन्चर, रु.१४ अर्ब ५ करोड बराबरको हकप्रद शेयर, रु.१३ अर्ब ५४ करोड बराबरको साधारण शेयर र रु.८ अर्ब ४० करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु.५६ अर्ब ५३ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७८ जेठसम्ममा सूचीकृत ५ अर्ब ८२ करोड शेयरको चुक्ता मूल्य रु.५७२ अर्ब ९२ करोड रहेको छ ।

२०७८ जेठ मसान्तमा धितोपत्र बजार पुँजीकरण रु.४२ खर्ब १६ अर्ब पुगेको छ । २०७७ असार मसान्तमा बजार पुँजीकरण रु.१७ खर्ब ९२ अर्ब ७६ करोड रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here