दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि उच्च, खाने तेल ३० प्रतिशत महँगियो

काठमाडौं, १ साउन । चालू आर्थिक वर्षमा मूल्यवृद्धि अपेक्षाकृत नियन्त्रणमा देखिए पनि दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भन्ने उच्च देखिएको छ ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७७/०७८ को ११ महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि उच्च देखिएको हो ।

चालू आवको मौद्रिक नीतिले मूल्यवृद्धिदर ७ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको थियो । मुख्यतः उत्पादन वा आयात उच्च वृद्धिका कारणले नभई मागमै कटौती आएकाले पनि मूल्यवृद्धिमा कम चाप परेको हो ।

२०७८ जेठमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.५४ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२२ प्रतिशत र गैर–खाद्य तथा सेवा
समूहको मुद्रास्फीति २.६३ प्रतिशत रहेको छ ।

२०७७ जेठको तुलनामा २०७८ जेठमा घ्यू तथा तेल, सुर्तिजन्य पदार्थ, गैर–मदिराजन्य पेय पदार्थ र यातायात उपसमुहको मूल्यवृद्धि क्रमशः ३०.९८ प्रतिशत, ९.८४ प्रतिशत, ९.८१ प्रतिशत र ९.७० प्रतिशत रहेको छ ।

घ। समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.८७ प्रतिशत, तराईमा ४.४७ प्रतिशत, पहाडमा ४.३२ प्रतिशत र हिमालमा १.७२ प्रतिशत मुद्रास्फीति रहेको छ ।

२०७७ जेठमा यी क्षेत्रहरुमा क्रमशः ४.४३ प्रतिशत, ४.८६ प्रतिशत, ४.१३ प्रतिशत र ४.३४ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

२०७८ जेठमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ९.०० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.९६ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ९.६५ प्रतिशत, ९.५३ प्रतिशत र ३.९२ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ८.१६ प्रतिशत रहेको छ ।

२०७८ जेठमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १.९८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ७.४० प्रतिशतले बढेको थियो । समीक्षा महिनामा ज्यालादर सूचकाङ्क २.५६ प्रतिशतले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here