यस्तो छ आइतबारदेखि लागु हुने शेयर कारोबारको नयाँ व्यवस्था

काठमाडौं, १ साउन । नेपाल स्टक एक्स्चेञ्जले आइतबारदेखि शेयर कारोबारमा नयाँ व्यवस्था लागू गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले प्रारम्भिक कारोवार सत्र (प्रिओपनिङ)को मूल्य सीमा र धितोपत्रको कारोवारमा न्यूनतम मूल्य परिवर्तन सीमामा नयाँ व्यवस्था गर्न निर्देशन दिएसँगै नेप्सेले धितोपत्र कारोबार संचालन नियमावली र मुल विनियमावलीको विनियम १३ मा संसोधन गरी उक्त व्यवस्था कार्यान्यनमा ल्याउन लागेको हो ।

नेप्सेले प्रकाशित गरेको सूचना अनुरुप बुधबार बसेको सचालन समितिले उक्त नियमावली संसोधन गरेको र आइतबार (साउन ३ गते) देखि कार्यान्यनमा ल्याईने जानकारी दिएको हो । उक्त व्यवस्था अनुरुप बोर्डले यस अघि दोश्रो बजारको प्रारम्भिक कारोवार सत्रमा हाल मूल्य परिवर्तन सीमा २ प्रतिशत मात्र हुने छ । यस अघि यस्तो सीमा ५ प्रतिशत रहेको थियो ।

यसैगरी दोश्रो बजारमा धितोपत्रको कारोबार हुँदा हाल न्यूनतम मूल्य परिवर्तन सीमालाई पनि परिवर्तन हुनेछ । हाल उक्त सिमा १ रुपैयाँ रहेकोमा सोलाई घटाई १० पैसा वा १० पैसाले भाग जाने मूल्यमा आदेश प्रविष्टी गर्न सकिने व्यवस्था गरेको नेप्सेले जानकारी दिएको छ ।

यस अघि बोर्डले पछिल्लो समय प्रारम्भिक सत्रमा कारोवार भएको धितोपत्रको मूल्यमा भइरहेको अस्वभाविक उतार चढावलाई व्यवस्थित गर्नुपर्ने देखिएकोले उक्त सत्रमा हुने गरेको धितोपत्रको कारोबार मूल्य परिवर्तन सीमालाई घटाइएको जानकारी दिएको थियो ।

प्रि ओपनिङले सेयर बजारलाई व्यवस्थित गर्नुभन्दा पनि थप समस्या निम्त्याएको भन्दै बोर्डले उक्त सीमालाई नै परिवर्तन गरिदिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here