लघुवित्तको ऋण औसत प्रतिव्यक्ति ७० हजार

काठमाडौं, २ असार । नेपाली लघुवित्त कम्पनीहरुको औसत ऋणको आकार रु. ७० हजार ५ सय ७० पुगेको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार लघुवित्त कम्पनीहरुले प्रवाह गर्ने ऋणको आकारले ७० हजार रुपैयाँ नाघेको छ जुन नेपालीहरुको औसत प्रतिव्यक्ति आम्दानीको ५३ प्रतिशत हो ।

मुलुकमा सञ्चालनमा रहेका करीब ९१ लघुवित्त कम्पनीहरुमा ४१ लाख भन्दा बढी सदस्यहरु आवद्ध छन भने ऋणीहरुको संख्या २५ लाख ५६ हजार भन्दा बढी छ ।

तर, ती सदस्यको करीब २५ प्रतिशत डुप्लिकेट वा दोहोरिएको अवस्था रहेको अर्थशास्त्री भरत सिंह थापाको भनाइ छ ।

केही दिन अघि लघुवित्त कम्पनीको मर्जसम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै उनले भनेका थिए – ऋणीको डुप्लिकेशन लघुवित्तको संभवत सबैभन्दा ठूलो चुनौति हो । एउटै व्यक्ति १० ओटासम्म कम्पनीको सदस्य र ग्राहक बनेको भेटिएको छ । त्यसले लघुवित्तले प्रवाह गर्ने ऋणको जोखिम बढाएको छ ।

सरोकारवालाहरुले मुलुकमा लघुवित्तको संख्या धेरै भएको र बजारलाई स्वस्थ बनाउन कम्पनीको संख्या कम गर्नु आवश्यक रहेको बताउँछन् । हाल सञ्चालनमा रहेका कम्पनीको संख्या ९१ छ भने ४० नयाँ कम्पनी लाइसेन्स लिने तयारीमा छन् ।

लघुुवित्त कम्पनीको शाखा संख्या १६ हजार ७ सय ८५ पुगेको छ जुन वाणिज्य बैंकको भन्दा बढी हो । नेपालमा २८ वाणिज्य बैंकको शाखा संख्या ३ हजार ३ सय ९ छ ।

वाणिज्य बैंकको चुक्ता पुँजी रु. ८ अर्ब छ भने लघुवित्तको रु. १ करोडदेखि रु. १ अर्ब २० करोड रुपैयाँसम्म छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here