व्यापार विस्तारमा एनआइसी एशिया र ग्लोबल आइएमई बैंक आक्रामक

काठमाडौं, ५ साउन । गत आर्थिक वर्ष २०७७/७८ मा वाणिज्य बैंकहरुले आक्रमक रुपमा कर्जा विस्तार गरेका छन् ।

बैंकर्स संघका अनुसार २७ वटै वाणिज्य बैंकहरुको गत वर्ष (१ वर्षको अवधिमा) ७ खर्ब १४ अर्ब निक्षेप संकलन गरी ८ खर्ब १८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

बैंकहरुले १ वर्षको अवधिमा गरेको निक्षेप संकलनभन्दा १ खर्ब ४ अर्ब बढी कर्जा लगानी गरेका हुन् । यो एक वर्षको अवधिमा सबैभन्दा बढी निक्षेप संकलन गर्ने बैंकमा एनआइसी एसिया देखिएको छ ।

एनआइसी एसिया बैंकले यो एक वर्षको अवधिमा ८९ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

कर्जा प्रवाहमा पनि एनआइसी एसिया नै अगाडि देखिएको छ । एनआइसी एसिया बैंकले अवधिमा ९१ अर्ब १० करोड रुपैयाँ कर्जा बढाएर २ खर्ब ६४ अर्ब ८४ करोड रुपैयाँ पुर्याएको छ ।

चुक्ता पूँजीका आधारमा सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई धेरै व्यापार गर्नेमा दोस्रो स्थानमा रहेको छ । गत वर्ष बैंकले २ खर्ब ८३ अर्ब निक्षेप संकलन गरी २ खर्ब ४२ अर्ब ऋण लगानी गरेको छ । ग्लोबलले गत वर्षमा ५६ अर्ब निक्षेप र ४२ अर्ब कर्जा लगानी बढाएको छ ।

यस्तै, तेस्रोमा निक्षेप बढी संकलन गर्ने बैंकको सूचीमा सिटिजन्स इन्टरनेश्नल बैंक देखिएको छ । यो बैंकले हालसम्म १ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । यो एक वर्षको अवधिमा भने सिटिजन्सले ५० अर्ब ८ करोड रुपैयाँ निक्षेप बढाएको छ ।

गत वर्ष बैंकिङ प्रणालीमा अधिक २ खर्बसम्म तरलता रहेको थियो । केही महिनामा भने तरलता कम हुँदा बैंकहरुले अन्तर बैंक सापटी लिएर समेत कर्जा लगानी गरेका थिए ।

यस्तै, गत वर्ष निक्षेप संकलन र कर्जा लगानीमा नेपाल बंगलादेश बैंक सबैभन्दा पछि परेको छ । असारसम्म बंगलादेश बैंकले ८९ अर्ब निक्षेप संकलन गरी जम्मा ७१ अर्ब कर्जा लगानी गरेको छ ।

असोज, पुुस, चैत र असारमा आक्रमक कर्जा विस्तार गरेका छन् । वर्षको अन्तिम महिना असारमा मात्रै बैंकहरुले २ खर्ब ११ अर्ब निक्षेप संकलन गरी ७० अर्ब ऋण लगानी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here