काठमाडौं, ८ साउन । माइक्रो ब्लगिङ सामाजिक सञ्जाल ट्विटरमा ‘अपभोट’ र ‘डाउनभोट’को सुविधा थपिने भएको छ ।
त्यसका लागि ट्विटरले अध्ययन गरिरहेको छ भने शुरुमा आईओएस प्रयोगकर्ताहरुमा त्यसको परीक्षण गरिंदैछ । प्रयोगकर्ताहरुलाई सान्दर्भिक हुने खालका ‘रिप्लाई’हरु बुझ्नमा सहयोग गर्न नयाँ फिचर थपिएको ट्विटरको भनाइ छ ।
उसका अनुसार नयाँ बटनमा बुढी औंला (थम्ब) वा तीर (एरो)को प्रयोग गरिने छ ।
यद्यपि ‘डाउनभोट’हरु अरु प्रयोगकर्ताले नदेखिने गरि व्यवस्थित गरिने छ र यसले ‘रिप्लाई’हरुको क्रममा पनि कुनै फेरबदल गर्ने छैन ।
यसअघि अर्को सामाजिक सञ्जाल रेडिटले अप र डाउन भोटिङको सफल प्रयोग गरिसकेको छ ।
ट्विटरका अनुसार डाउनभोट भनेको ‘डिस्लाइक’ जस्तो चाहिँ होइन । रेडिटले उसको यो घोषणालाई ‘रुचीपूर्ण’ भनेको छ ।
धेरै सामाजिक सञ्जालहरुमा अपभोट र डाउनभोटको प्रयोग भइसकेको छ भने प्रयोगकर्ताहरुले अझै पनि त्यस्ता बटन वा भोटले ट्विटरमा हुने अन्तक्र्रियामा कस्तो प्रभाव पार्नेछ भन्ने बुझ्न सकेका छैनन् । ट्विटरले भने प्रयोगकर्ताहरुलाई थप शक्ति दिनेछ र खासगरी अफवाह फैलाउने वा अरुको मानमर्दन गर्नेहरुलाई निरुत्साहित गर्न मद्दत मिल्ने बताएको छ ।