कुलमान बाहिरिएसँगै विद्युत् चुहावट बढ्यो, प्राधिकरणको नाफा ५ अर्बमा सीमित

काठमाडौं, ११ साउन । नेपाल विद्युत् प्राधिकरणको नाफा गत आर्थिक वर्षको तुलनामा दोब्बरले घटेको छ । गत वर्ष ११ अर्ब ६ करोड नाफा कामाएको प्राधिकरणले गत आर्थिक वर्ष २०७७/७८मा नाफा ५ अर्बमा सीमित हुने देखिएको हो ।

लगातार घाटामा जाने नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङले कार्यभार सम्‍हालेसँगै घाटा घट्दै आर्थिक वर्ष २०७६/७७ सम्म आइपुग्दा अधिकतम ११ अर्ब रुपैयाँसम्म नाफामा पुगेको थियो ।

सरकारले आव २०६७/ ०६८ सम्मको सञ्चित घाटा करिब २७ अर्व रुपैयाँ अपलेखन गरिदिएपछि घाटामा गइरहेको थियो । आव २०७२/७३मा ३४ अर्ब ६१ करोड रहेको सञ्चित घाटालाई त्यसपछिका आवहरुमा निरन्तर घटाउँदै प्राधिरकण सञ्चित मुनाफामा आइसकेको छ ।

२९ भदौ २०७३ मा कार्यकारी निर्देशकको नियुक्ति पाएका कुलमानको कार्यकालमा नै १६ घण्टा लामो लोडसेडिङ अन्त्य र ३४ अर्बको सञ्चित घाटाबाट ५ अर्ब नाफामा पुगेको थियो । तर, एकै आर्थिक वर्षमा नाफा घटेर ५ अर्बमा सीमित हुन पुगेको छ ।

नाफा घट्नुको कारण व्यवस्थापकीय खर्च बढ्नुका साथै चुहावट बढ्नु देखिएको छ । गत आर्थिक वर्ष २०७७/७८मा विद्युत चुहावट पनि फेरि बढ्न सुरु गरेको छ ।

२०७७ असारसम्म १५.२७ प्रतिशतमा झरेको विद्युत् चुहावट बढेर १६.३ प्रतिशत पुगेको कार्यकारी निर्देशक शाक्यले बताए । यो वर्ष १४.५ प्रतिशतमा झार्ने लक्ष्य थियो ।

आव २०७२/०७३मा २५.७८ प्रतिशत विद्युत चुहावट त्यसपछिका आवहरुमा निरन्तर घटाएर गत वर्षसम्म १५.२७ प्रतिशतमा झरेको थियो । चुहावटलाई आव २०७३/७४मा २२.९, २०७४/७५ मा २०.४५, २०७५/७६ मा १५.३२ प्रतिशतमा झारिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here