चिया/कफी निर्यात बढ्यो, एकवर्षमा ११ अर्बको निर्यात हुँदा साढे ९ अर्बको आयात

काठमाडौं, ११ साउन । नेपालबाट निर्यात हुने चिया तथा कफीको परिमाण बढेको छ । गत आर्थिक वर्षमा ११ अर्ब ७६ करोडको चिया तथा कफी निर्यात भएको छ ।

भन्सार विभागको गत आर्थिक वर्षको वैदेशिक व्यापारको बार्षिक तथ्यांक अनुसार गएको १ वर्षमा ११ अर्ब ७६ करोड ७८ लाख रुपैयाँ बराबरको चिया/कफी निर्यात भएको हो ।

यो परिमाण अघिल्लो आर्थिक वर्षको तुलनामा ४ अर्ब बढी हो । आर्थिक वर्ष २०७६/७७ मा ७ अर्ब ५२ करोड २६ लाख रुपैयाँ बराबरको चिया तथा कफी निर्यात भएको थियो ।

आयात घट्यो

भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार चिया/कफीको आयातमा पनि कमी आएको छ ।

आर्थिक वर्ष २०७६/७७ सम्ममा कुल ११ अर्ब ५७ करोड रुपैयाँ बराबरको चिया तथा कफी आयात भएकोमा गत आर्थिक वर्षमा भने ९ अर्ब ४९ करोड रुपैयाँ बराबरको मात्रै चिया तथा कफी आयात भएको छ ।

नेपालबाट कफी अस्ट्रेलिया, क्यानाडा, चीन, फ्रान्स, जर्मनी, इटली लगायतका यूरोपेली मुलुकहरुमा निर्यात हुने गरेको छ । त्यस्तै कतार, जापान, कोरिया, अमेरिका, सिंगापुर, थाईल्याण्ड जस्ता मुलुकहरुमा जाने गरेको छ ।

नेपालको चियाको बजार हेर्दा बेल्जियम, फ्रान्स लगायतका केहि यूरोपेली मुलुकहरु छन भने चेक रिपब्लिक, कोरिया, जापान, क्यानाडा, अमेरिका, रसिया, चीन, सिंगापुर, कतार, यूएई जस्ता देश अरुमा निर्यात हुने गरेको छ ।

कफी तथा चिया आयात हुने मुलुकहरुमा भने चीन, भारत, थाईल्याण्ड, बेलायत, ब्राजील, मलेशिया, श्रीलंका, कोरिया, चेक रिपब्लिक, यूएई, जस्ता मुलुकहरु रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here