लुगाले कोभिड रोक्ने दाबी गर्ने कम्पनीलाई साढे ४३ करोडको जरिवाना

काठमाडौं । आफ्नो लुगाले कोरोनाभाइरस नाश गरेको तथा कोभिड १९ को विस्तारलाई रोकिदिएको दाबी गर्ने व्यायाम तथा खेलकुदमा प्रयोग हुने विभिन्न वस्त्र बनाउने अस्ट्रेलियाको एउटा कम्पनी कारबाहीमा परेको छ।

एक्टिभवेअर फर्म ‘लोर्ना जेन’ले ‘सबै रोगकारक कीटाणुको विस्तार’ रोक्न आफ्नो परिधानमा ‘एलजे शील्ड’ नामक ‘अभूतपूर्व प्रविधि’ प्रयोग गरिएको भन्दै विज्ञापन गरेको थियो।

तथ्यहीन दाबीका लागि उसलाई ५० लाख अस्ट्रेलियाली डलर अर्थात ४३ करोड ७१ लाख रुपैयाँ जरिवाना तिराइएको छ ।

सङ्घीय अदालतका एक न्यायाधीशले आफ्नो आदेशमा उक्त कम्पनीको दाबी ‘शोषणकारी, हिंसक र खतरनाक’ भएको उल्लेख गरेका छन् ।

गत साता शुक्रवार उक्त मुद्दामा निर्णय दिँदै सङ्घीय अदालतले लोर्ना जेनले विज्ञापनमा आफूसँग ‘युक्तिसङ्गत वैज्ञानिक वा प्राविधिक आधार’ भएको दाबी उपभोक्तासँग गरेको तर त्यसो नभएको ठहर गरेको छ ।

केही समयअघि उक्त कम्पनीलाई कोभिडबारे अवैधानिक विज्ञापन गरेको भन्दै ४०,००० अस्ट्रेलियाली डलर जरिवाना तिराइएको थियो ।बीबीसी