स्वास्थ्य राज्यमन्त्रीलाई तत्काल पदमुक्त गर्न प्रधानमन्त्रीलाई डा. केसीको ६ बुँदे खबरदारीपत्र

काठमाडौं, १२ साउन । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्न माग गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवालाई आज ६ बुँदे खबरदारीपत्र पठाउँदै उनले स्वास्थ्य राज्यमन्त्रीले या त स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको आफ्नो सारा लगानीबाट तत्काल अलग हटेर स्वार्थको द्वन्द्व हुने अवस्था अन्त्य गर्नुपर्ने नत्र भने उनलाई तत्काल पदमुक्त गर्नुपर्ने बताएका छन् ।

‘अब उप्रान्त व्यापारी वा व्यवसायीहरूले नेता वा तिनका परिवारका सदस्यलाई करोडौँ घुस खुवाएर चोरबाटोबाट सांसद र मन्त्री हुने, सार्वजनिक संस्थाहरू डुबाउने, आफ्नो व्यवसायको हित हुने गरी कानुन बनाएर नीतिगत भ्रष्टाचार गर्ने अवस्था कहिल्यै नआओस्,’ डा. केसीले खबरदारी पत्रमा भनेका छन् ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हाल चलिरहेको आन्दोलनका सबै मागहरू पूरा गरेर संस्था सुधारलाई अघि बढाउनुको विकल्प नभएको केसीको भनाइ छ ।

पूर्ववर्ती सरकारको संरक्षणमा रहेर चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूलाई धम्क्याउने, नाजायज हस्तक्षेप गर्न खोज्ने र आफ्नो अभियानका सदस्यलाई भौतिक आक्रमणको धम्की दिने व्यक्तिलाई कानुनअनुसार कारबाही गर्न उनले माग गरेका छन् ।

वि.सं. २०८५ देखि नेपालको मेडिकल शिक्षा गैरनाफामूलक हुने भनेर चिकित्सा शिक्षा ऐनमा किटानी भएकाले त्यो नीति कार्यान्वयनको तयारी तत्काल गर्न उनले सरकारलाई भनेका छन् ।

उनले आफूसँग भएका सबै सम्झौता कार्यान्वयन गर्न सरकारलाई आग्रह समेत गरेका छन् ।

‘तीमध्ये चिकित्सा शिक्षा ऐनको सम्झौताको संशोधन पनि पर्छ। पछिल्लो समयको अनुभवले चिकित्सा शिक्षा आयोगमा प्रधानमन्त्री र मन्त्रीहरूलाई राख्दा चरम राजनीतिक हस्तक्षेप र विसंगति देखिने कुरा पुष्टि भएको छ। त्यसैले अबको संशोधनमा आयोगका अध्यक्ष प्रधानमन्त्री तथा सहअध्यक्ष शिक्षा र स्वास्थ्यमन्त्री हुने व्यवस्था हटाएर कार्यकारी उपाध्यक्षलाई नै अध्यक्षताको जिम्मेवारी दिनुपर्छ,’ केसीले आफ्नो पत्रमा भनेका छन् ।

यी मागहरू पूरा गर्नुको सट्टा सरकारले आम नागरिक र विद्यार्थीको सट्टा सीमित शैक्षिक र मेडिकल माफियाको हितमा काम गरे सत्याग्रहसहित जस्तोसुकै आन्दोलनका कार्यक्रम ल्याउन सक्ने चेतावनी सरकारलाई दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here