जीवन विकास लघुवित्तको शेयर बिहीबारदेखि कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

काठमाडौं, १३ साउन । जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको ६० लाख ८४ हजार एक सय कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । जसमा सर्वसाधारण समूहको १९ लाख ७७ हजार ३०० कित्ता र संस्थापक समूहको ४१ लाख ६ हजार ७०० कित्ता रहेको छ।

नेप्से र लघुवित्तबीच बुधबार शेयर सूचीकरण सम्झौता भएको हो। यससँगै अब यो लघुवित्तको शेयर बिहीबारदेखि कारोबारमा आउने भएको छ। कम्पनीले सर्वसाधरणका लागि बाँकी १८ लाख ४८ हजार १५ कित्ता आईपीओ बिक्री गरेको थियो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम ३०५ रूपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । यो रेन्ज भित्रको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ ।

यसको अर्थ भोलि स्पेसल प्रिओपन सेसनमा यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र कारोबार भएमा नियमित समयमा शेयर किनबेच सुरु हुनेछ।

कम्पनीले दोश्रो बजारमा कारोबारका लागि जेबिएलबि (JBLB) सिम्बोल पाएको छ । कम्पनीले असार ११ गतेदेखि १५ गतेसम्म सार्वजनिक निष्कासन मार्फत १८ लाख ४८ हजार १५ कित्ता शेयर बिक्री गरेको थियो ।

लघुवित्तले हाल देशका १९ वटा जिल्लाका १३८ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ । लघुवित्तले गत वर्ष एकैसाथ सल्भ लघुवित्त र गरिबी न्यूनीकरण लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको थियो ।

हाल ४१ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ निष्काशन पछि चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्नेछ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लघुवित्तले ५६ करोड ३९ लाख खुद मुनाफा कमाएको छ । ४१ करोड ६ लाख चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ कोषमा १ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ ।

चैत मसान्तसम्म लघुवित्तको प्रतिसेयर आम्दानी १३७.३२ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ३८८.२९ रुपैयाँ छ ।

यो लघुवित्त जीवन विकास समाज (गैर सरकारी संस्था) द्धारा प्रबर्धित हो । नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको (राष्ट्रियस्तर) वित्तीय संस्थाको रुपमा इजाजत प्राप्त गरि २०७५ फागुन १६ गते देखि कम्पनीले वित्तीय सेवा प्रदान गरिरहेको छ ।

नेपाल राष्ट्र बैकले जारी गरेको बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७७ बमोजिम यस वित्तीय संस्था र सल्भ लघुवित्त वित्तीय संस्था लि. धनकुटा तथा गरिबी न्युनिकरण लघुवित्त वित्तीय संस्था लि. राजविराज बीचमा गाभ्ने/गाभिने (मर्जर) कार्य सम्पन्न भई २०७७ भाद्र २२ गते देखि एकीकृत कारोवार प्रारम्भ भएको छ ।

कम्पनीको केन्द्रिय कार्यालय मोरङमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here