जीवन विकास लघुवित्त शेयर कारोबार सुरु, कतिमा भयो पहिलो कारोबार ?

काठमाडौं, १४ साउन । जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण शेयर (आइपीओ) को कारोबार सुरु भएको छ ।

बिहीबार प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएसँगै नियमित बजारमा कारोबार सुचारु भएको छ ।

कम्पनीको पहिलो कारोबार ९१४ रुपैयाँमा भएको छ । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले न्युनतम ३०५ रूपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसासम्मको कारोबार रेञ्ज प्रदान रेन्ज तोकेको थियो । कम्पनीको शेयर (JBLB) सिम्बलबाट कारोबार भएको हो।

लघुवित्तले हाल देशका १९ वटा जिल्लाका १३८ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ । लघुवित्तले गत वर्ष एकैसाथ सल्भ लघुवित्त र गरिबी न्यूनीकरण लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको थियो ।

हाल ४१ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ निष्काशन पछि चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्नेछ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लघुवित्तले ५६ करोड ३९ लाख खुद मुनाफा कमाएको छ । ४१ करोड ६ लाख चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ कोषमा १ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ ।

चैत मसान्तसम्म लघुवित्तको प्रतिसेयर आम्दानी १३७.३२ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ३८८.२९ रुपैयाँ छ ।

यो लघुवित्त जीवन विकास समाज (गैर सरकारी संस्था) द्धारा प्रबर्धित हो । नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको (राष्ट्रियस्तर) वित्तीय संस्थाको रुपमा इजाजत प्राप्त गरि २०७५ फागुन १६ गते देखि कम्पनीले वित्तीय सेवा प्रदान गरिरहेको छ ।

नेपाल राष्ट्र बैकले जारी गरेको बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७७ बमोजिम यस वित्तीय संस्था र सल्भ लघुवित्त वित्तीय संस्था लि. धनकुटा तथा गरिबी न्युनिकरण लघुवित्त वित्तीय संस्था लि. राजविराज बीचमा गाभ्ने/गाभिने (मर्जर) कार्य सम्पन्न भई २०७७ भाद्र २२ गते देखि एकीकृत कारोवार प्रारम्भ भएको छ ।

कम्पनीको केन्द्रिय कार्यालय मोरङमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here