काठमाडौं, १४ साउन । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको बारेमा मिडियामा समाचार प्रकाशन तथा प्रसारण भएपछि अर्थमन्त्रालयले स्पष्टीकरण सोधेको छ ।
ढुंगानाले बुकबिल्डिङ विधिबाट आइपीओ ल्याउन लागेको सर्वोत्तम सिमेन्टको शेयर छोरीको नाममा किनेको समाचार बाहिरिएसँगै मन्त्रालयले स्पष्टीकरण माग गरेको हो ।
अर्थ मन्त्रलायका शाखा अधिकृत श्याम प्रसाद आचार्यले पत्रकाटी सञ्चार माध्यममा आएका विषयवस्तुहरु सत्य तथ्य के हो, सोको स्पष्ट तथ्यपरक विवरण तीन दिनभित्र मन्त्रालयमा उपलब्ध गराउन निर्देशन दिएका हुन् ।
अध्यक्ष ढुंगानाले स्वार्थ बाझिने गरी शेयर खरीद गरेको आरोप लागेको हो । तर विबाद भएपछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले विहे गरेको छोरीले शेयर किन्न धितोपत्र बोर्डको कर्मचारी विनियमावली र कानूनले बन्देज नलगाउने दाबी गरेका छन् ।
ढुंगानाले आन्तरिक रुपमा अमेरिकामा बस्ने छोरी रेविका ढुंगानाका नाममा सर्वोत्तम सिमेन्टको ११ हजार ९९२ कित्ता शेयर किनेको विवरण सार्वजनिक भएको थियो ।