अमेरिकामा ८.२ म्याग्नेच्युडको भूकम्प, सुनामीको चेतावनी

काठमाडौं, १४ साउन । अमेरिकाको अलास्कामा ८.२ म्याग्नेच्युडको भूकम्प गएको छ।

स्थानीय समयअनुसार बुधबार राति अलास्काको चिगनिकभन्दा ७५ माइल्स दक्षिणी पूर्वको तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । भूकम्पपछि त्यहाँ सुनामी आउन सक्ने चेतावनी दिइएको छ ।

राष्ट्रिय मौसम सेवाले सुनामीको चेतावनी दिएको हो। दक्षिण अलास्का प्रायद्वीप र एउटियन टापु मा बस्नेहरूको लागि सो चेतावनी जारी गरिएको छ ।

राष्ट्रिय मौसम सेवाले धेरै खतरनाक सुनामीका छालहरू आउने सम्भावना रहेको बताएको छ । हवाईमा पनि सुनामीको चेतावनी दिइएको छ ।

भूकम्पको धक्का महसुस भएको कोडियाक शहरमा सुनामीको खतराको संकेत दिने साइरन बजेसँगै त्यहाँका मानिसहरू माथिल्ला क्षेत्रमा जान थालेको न्यूयोर्क टाइम्सले जनाएको छ ।

सन् १९९० यता अलास्का क्षेत्रमा ८.२ म्याग्नेच्युडका वा सोभन्दा माथिका १७ भूकम्प मापन भइसकेको युएसजिएसले जनाएको छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here