‘सहकारी बैंकले नाफाको लागि भन्दा उत्पादन र रोजगारी सिर्जनामा प्रतिस्पर्धा गर्नुस्’

काठमाडौं, १९ साउन । अर्थमन्त्री जनार्दन शर्माले सहकारी बैकले नाफाको प्रतिस्पर्धा नगरी रोजगारी सिर्जना, गरिबी अन्त्य गर्ने तथा उत्पादन वृद्धिमा प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिकोत्सवको अवसरमा मंगलबार ललितपुरमा आयोजित सहकारीमा लघुवित्त सम्मलेन–२०७८ लाई सम्बोधन गर्दै शर्माले यस्तो बताएका हुन् ।

‘उत्पादनमुखि अर्थतन्त्रको विकास गर्न सहकारी बैंकले उत्पादन क्षेत्रलाई जोड दिनुपर्छ’, उनले भने,’त्यसका लागि सरकारले नीतिमा परिवर्तन गरी सहजीकरण गर्छ ।’

‘उत्पादनमा जोड दिँदा त्यसले रोजगारी सिर्जना गर्ने भन्दै उनले सहकारी संस्थाहरूले नाफाको प्रतिस्पर्धा नगरी रोजगारी सिर्जना, गरिबी अन्त्य गर्ने तथा उत्पादन वृद्धिमा प्रतिस्पर्धा गर्नुपर्ने बताए ।’

त्यस्तै कार्यक्रममा सहकारी बैंकका चेक क्लियरिङ नहुने समस्या अन्त्य हुने घोषणा गरेका छन् । ‘चेक नचल्ने नियम खारेज गर्छु । सामाजिक सुरक्षाको भत्ता पनि सहकारी बैंक तथा गाउँगाउँमा रहेका लघुवित्त कम्पनीमार्फत् भुक्तानी गर्ने व्यवस्थाका लागि छलफल चलाइरहेको छु,’ उनले भने ।

यसैगरी मन्त्री शर्माले ऋण प्रवाहमा रहेको असमानता समेत हटाउन पहल गरिने बताए । ‘गाडी किन्ने कर्जामा थोरै ब्याज लाग्ने तर गरीबले लिने कर्जामा धेरै ब्याज लगाउने कार्य सच्याउनुपर्नेछ,’ उनले भने ।

साथै उनले कर्जा प्रवाहमा ब्याजदर घटाएर सहज बनाउन सहकारी बैंक, सहकारी संस्था तथा लघु वित्त संस्थाहरूलाई आग्रह गरे । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशव बडाल, पत्रकार शर्मिला ठकुरी, राष्ट्रिय सहकारी बैंकका उत्कृष्ट कर्मचारीलगायतलाई सम्मान गरिएको थियो ।

मंगलवार शुरू भएको ‘सहकारीमा लघुवित्त सम्मेलन–२०७८’ भोलिसम्म चल्नेछ । कोरोनाका कारण सम्मेलनमा भौतिक उपस्थिति कम गराइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here