काठमाडौं, २१ साउन । सानिमा लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदनको ओइरो लागेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार बिहीबार साँझ ५ बजेसम्म २ अर्ब ३८ करोड ८९ लाख ८९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
जसमा १५ लाख ९८७ जना आवेदकले २ करोड ३८ लाख ८९ हजार ८९० कित्ताका लागि आवेदन दिएका छन् । उक्त आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ४.४२ गुणा बढी हो ।
कम्पनीले बुधबारदेखि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ बिक्री खुला गरेको छ ।
जसमध्ये कम्पनीले ३ लाख कित्ता अर्थात ५ प्रतिशत कर्मचारी र३ लाख कित्ता अर्थात ५ प्रतिशत नै सामुहकि लगानी कोषका लागि सुरक्षित गरिएको छ । र बाँकि ५४ लाख कित्ता सर्वसाधरणका लागि छुटाइएको छ ।
उक्त आइपीओमा न्युनतम १० किताका लागि आवेदन दिन सकिनेछ भने अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।
आवेदकले यस आइपीओमा छिटोमा साउन २४ गते बैंकिङ समयसम्म आवेदन गर्न सक्नेछन् । सो समय अवधिमा विक्री नभएमा आवेदकले भदौ २ गते बैंकिङ समयसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
आइपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।