एनआईसी एशिया लघुवित्तको नाफामा उल्लेख्य सुधार

काठमाडौं, २२ साउन । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरण अनुसार चाैथाे त्रैमाससम्म संस्थाले राम्राे प्रगति गरेकाे देखिएकाे छ । गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले ५६ करोड ४७ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ ।

उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा २२१.४९ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १७ करोड ५६ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफा बढ्दा खुद मुनाफामा उल्लेख्य वृद्धि भएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १७५.९३ प्रतिशतले बढेर १ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । यस्तै, समीक्षा अवधिमा लघुवित्तको संचालन मुनाफा २२९.२० प्रतिशतदले बढेर ८४ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तले २ अर्ब ६७ करोड निक्षेप संकलन र १५ अर्ब ५९ करोड सापटी लिइ कुल १६ अर्ब ८९ करोड कर्जा प्रवाह गरेको छ । हाल १ अर्ब ७३ करोड चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ९३ करोड ५२ लाख रुपैयाँ संचित रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी पनि झन्डै तीन गुणाले बढेर ३२.४६ रुपैयाँ पुगेको छ । लघुवित्तको खराब कर्जा भने ०.९९ प्रतिशतबाट घटेर ०.९३ प्रतिशतमा झरेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १५३.८४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४७.५८ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here