१ अर्ब ५६ करोडको हकप्रद शेयर पाइपलाइनमा, कुन कम्पनीको कति ?

काठमाडौं, २२ साउन । केन्द्रीय बैंकले हकप्रद शेयरमा कडाई गरेपछि धितोपत्र बोर्डमा आवेदन दिने कम्पनीको संख्या घटेको छ ।

वित्तीय संस्थाहरुलाई मर्जर–एक्विजिसनमा प्रोत्साहन गर्न हकप्रद शेयरमा कडाई गरेसँगै आवेदन दिने कम्पनीको संख्य घटेको हो ।

नेपाल धितोपत्र बोर्डको तथ्यांकमा अनुसार ६ वटा कम्पनी हकप्रद शेयर निष्काशन तथा स्वीकृतिका लागि पर्खाइमा रहेका छन् ।

पाइप लाइनमा रहेका कम्पनीहरूमा तीन वटा विकास बैंक, एउटा फाइनान्स , एउटा इन्स्योरेन्स र एउटा हाइड्रोपावर कम्पनी छन् ।

यी ६ कम्पनीले १ अर्ब ५६ करोड ४४ लाख ३ सय ६७ रुपैयाँ ४२ पैसा बराबरको १ करोड ५६ लाख ४४ हजार ३ दशमलव ६७ कित्ता हकप्रद शेयर निष्काशनको लागि अनुमति माग गरेका हुन् ।

बोर्डले हकप्रद निश्कासनका लागि परेको निवेदनलाई अगाडि बढाई अनुमति दिएपछि ती कम्पनीहरुलाई शेयर निश्कासन गर्न बाटो खुल्नेछ । सामान्यतया बोर्डबाट अनुमति पाएको २ महिनाभित्र कम्पनीले शेयर निश्कासन गरिसक्नुपर्ने हुन्छ ।

कम्पनीले शेयरधनीबाटै पूँजी उठाउन चाहेको अवस्थामा हकप्रद शेयर निश्कासन हुने गरेको छ ।

अनुमति मागेको मध्ये सबैभन्दा धेरै शिखर इन्स्योरेन्सको रहेको छ । शिखरले कम्पनीले १०:३ को अनुपातमा ५२ करोड ७५ लाख ५७ हजार २ सय रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद निष्काशनको अनुमति मागेको छ ।

जसको लागि जेठ २५ गते आवेदन दिएको छ । कम्पनीले हकप्रद शेयर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

अनुमति माग्नेमा दोस्रो ठूलामा कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ । कर्पोरेट बैंकले १:१.५० को अनुपातमा ३० करोड बराबरको ३० लाख कित्ता शेयर निष्काशन अनुमति मागेको छ । उक्त आवेदन बोर्डको प्रारम्भिक अध्ययनको क्रममा रहेको छ ।

समृद्धि फाइनान्स कम्पनीले २: १ को अनुपातमा ५० प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति माग गरेको छ । कम्पनीले २७ करोड २९ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो । निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा साउन १५ गते आवेदन दिएको छ ।

त्यस्तै नारायणी डेभलपमेन्ट बैंकले १:१ को अनुपातमा अर्थात् शत प्रतिशत हकप्रद निष्काशनको अनुमति माग गर्दै ४ गते आवेदन बोर्डमा आवेदन दिएको हो । बोर्डबाट अनुमति पाएपछि बैंकले १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।

छ्याङदी हाइड्रोपावर कम्पनीले बैशाख १५ गते हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

अनुमति पाएपछि १०:३० को अनुपातमा ३० प्रतिशतले हुन आउने ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

एक्सेल डेभलपमेन्ट बैंकले १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ दशमलव ४२ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति मागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here