काठमाडौं र धनकुटाको ‘स्काई वाक टावर’मा ६७ करोड ५० लाख लगानी गर्दै निफ्रा

काठमाडौं, २५ साउन । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले काठमाडौं र धनकुटामा निर्माण गरिने ‘स्काई वाक टावर’मा रु. ६७ करोड ५० लाख लगानी गर्ने भएको छ ।

सोमबार निफ्रा र टावर निर्माण कम्पनी वोन्डर्स ग्रुप बीच ति टावरको निर्माण र संचालनका लागि कर्जा लगानी सम्झौता भएको छ ।

कोभिड–१९ बाट सृजित विषम परिस्थितिका बावजुद मुलुकको पर्यटकीय पूर्वाधारमा नवीनतम अवधारणासहित काठमाडौंको कमलादी र धनकुटाको भेडेटारमा निर्माणाधीन मुलुकको पहिलो ‘स्काई वाक टावर’ परियोजनाहरु निर्माण र संचालनका लागि निफ्राको एकल लगानीमा परियोजना निर्माणकर्ता वोन्डर्स ग्रुपसँग कर्जा लगानी सम्झौता भएको बैंकले बताएको छ ।

कमलादीमा निर्माण हुने ‘स्काई वाक टावर’ ७८ मिटर उचाईको हुने र उक्त टावरमा योगस्थल, रेस्टुराँलगायत मनोरञ्जनको व्यवस्था सहितका पूर्वाधारखरहने छन् ।

मुलुककै अग्लो उचाईको टावरबाट काठमाडौं उपत्यकाको रमणीय दृष्य शिशाको सतहबाट अवलोकन गर्न सकिने यस परियोजनाले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्य वन्डर्स ग्रुपले लिएको छ ।

यसैगरी धनकुटाको भेडेटारमा निर्माणाधीन ‘स्काई वाक टावर’ सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत निर्माण गर्न लागिएको हो ।

प्रदेश १ को लगानी प्राधिकरण र परियोजना निर्माणकर्ता बिच भएको परियोजना विकास सम्झौताअनुरुप निर्माण हुन लागेको यस परियोजनाले देशको पूर्वि भूभागको मुख्य पर्यटकीय स्थलको रुपमा परिचित भेडेटारमा थप आन्तरिक तथा बाह्य पर्यटक भित्राउन मद्दत गर्ने छ ।

वन्डर्सका अध्यक्ष प्रबेन्द्र पोखरेलले सम्झौता सम्पन्न हुँदा आफूहरु निकै उत्साहित भएको बताउँदै परियोजनाको निर्माण कार्य द्रुत गतिमा सञ्चालन गरी निर्धारित समयभित्रै सम्पन्न गरी संचालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले निफ्रा यस्तै किसिमका पूर्वाधार निर्माणमा वित्तीय पहुँच पुर्याउन स्थापित भएको बताए ।
यस्ता नवीनतम सोचलाई हातेमालो गर्ने बैंकको रणनीति रहेको पनि उनको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here