सिंगापुरमा क्रुजमा काम दिने भन्दै ६ करोड ठगी गर्ने पक्राउ

काठमाडौं, ४ असार । सिंगापुरको क्रुजमा काम लगाइदिन्छु भन्दै ६ करोड भन्दा बढी रकम ठगी गर्ने ट्रेनिङ सेण्टरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको विशालनगरमा द एप्रेन्टिस फर्म प्रालि खोलेर युवाहरुलाई सिंगापुर पठाइदिन्छु भन्दै रकम ठगी गर्ने नुवाकोट गणेशस्थान – ९ का प्रविन पौडेललाई प्रहरीले बुधवार मकवानपुरबाट पक्राउ गरेको हो ।

पौडेलले उक्त फर्मबाट सिंगापुर पठाइदिने र मासिक तलब स्केल ६ सय ५० डलर हुने भनी झुक्याएर युवाहरुलाई भारतको लखनउ र दिल्ली बडाई सोलास नामक पानीजहाजमा काम गर्नेलाई दिइने तालीम समेत दिलाएका थिए ।

त्यस कामका लागि प्रतिव्यक्ति रु. ५ लाख पनि उठाएका थिए तर कसैलाई पनि सिंगापुर भने पठाएनन् ।

झापा कन्काइ नगरपालिका – ८ का तीर्थ हमालले दिएको उजुरीका आधारमा प्रहरीले पौडेललाई मकवानपुरको बाइपासमा लुकेको अवस्थामा पक्राउ गरेको हो । उनले ३ सय जना भन्दा बढी व्यक्तिहरुबाट ६ करोड भन्दा बढी ठगी गरेको प्रहरीले बताएको छ ।

सो ठगी कार्यमा अन्य व्यक्तिहरुको समेत संलग्नता रहेको भन्दै प्रहरीले उनीहरुको पनि खोजी गरिरहेको नेपाल प्रहरीका सूचना अधिकारी सुशिल सिंह राठौरले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here