‘चुच्चे नक्सामा समेटिएको भूमि कहिले फिर्ता आउँछ’ ?

काठमाडौं, २६ साउन । राष्ट्रियसभाका सदस्यहरुले तुइन घटनाका पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्नुपर्ने तथा चुच्चे नक्सा बनेपछि भारतीय अतिक्रमणमा परेको लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ताका लागि पहल गर्नुपर्नेमा सरकारलाई सुझाव दिएका छन्।

राष्ट्रियसभाको आजको शून्य समयमा भाग लिने सांसदहरुले तुइन प्रकरण र भूमि फिर्ताका विषयमा भारतसित वार्ता गर्न सरकारसँग माग गरे ।

शून्य समयमा नेकपा एमालेका सांसद दिपा गुरुङले दार्चुलाको तुइन घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) दोषी भएकाले कारवाहीको पहल गर्न सरकारसँग माग माग गरिन्। उनले महाकालीमा बेपत्ता जयसिंह धामीको परिवारलाई उचित क्षतिपूर्तिका लागि पहल गर्नुपर्नेमा जोड दिएकी छन्।

गत वर्ष चुच्चे नक्सा जारी भएपछि भारतीय अतिक्रमणमा परेको लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ताका लागि पहल गर्नुपर्ने सुझाव पनि सांसदहरुले सरकारलाई दिएका छन्। यस्तै नेकपा एमालेका सांसद नन्दा चपाईंले पछिल्लो समय देशभर महिला हत्या हिंसा र बलात्कारका घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गरिन् ।

महिला हत्या हिंसा र बलात्कारका घटनामा कमी ल्याउन उचित कदम चाल्न उनले सरकारसँग माग गरिन्। यसैगरी नेपाली कांग्रेसका सांसद प्रकाश पन्तले अपाङ्गता भएका व्यक्ति अझै पनि आफ्नो हकअधिकारबाट वञ्चित भएको बताए । अपाङ्गता भएका व्यक्तिलाई उनीहरुको हकअधिकार दिलाउन सरकारले पहल गर्नुपर्नेमा उनले जोड दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here