२० युनिटसम्म खपत गर्नेलाई बिजुली निःशुल्क, विद्युत् महसुलदर समायोजन गर्ने

काठमाडौं, २७ साउन । सरकारले २० युनिटसम्म खपत गर्ने विपन्न नागरिकलाई बत्ती निःशुल्क बाल्न दिने निर्णय गरेको छ ।

बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म खपत गर्ने विपन्न वर्गको ग्राहकहरुलाई निःशुल्क विद्युत उपलब्ध गराउने घोषणा गरेकी हुन् ।

भुसालले नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले निःशुल्क विद्युत उपलब्ध गराउने निर्णय गरिसकेको भन्दै विद्युत नियमन आयोगसमक्ष प्रस्ताव पठाइएको बताइन् ।

आयातित ग्यासलाई विस्थापन गर्दै आफ्नै देशमा उत्पादन हुने विद्युतको उपभोग बढाउन अभिप्रेरित गर्नका लागि विद्युत् महसुल दरमा पनि समायोजन गर्ने निर्णय गरेको जानकारी दिइन् ।

त्यस्तै किसानलाई सिचाइँमा प्रयोग हुने विद्युतमा अधिकतम सहुलियत गर्ने पनि निर्णय गरेको छ । उनले विद्युतीय चुल्होको प्रयोग बढाउन ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौँ’ भन्ने नाराका साथ विद्युतीय चुल्होको प्रयोग बढाउदै लैजाने पनि बताइन् ।

प्रत्येक प्रदेशमा अर्धजलाशय र जलाशययुक्त आयोजनाहरू विद्युत प्राधिकरणमार्फत् अघि बढाउने तथा प्रदेश २ मा सोलार आयोजना निर्माण गरिने उनले जानकारी दिइन् ।

निजी क्षेत्रबाट निर्माणाधीन आयोजनाहरु छिटो सम्पन्न गर्न आवश्यक समन्वय एवम् सहजीकरण तथा अनुगमन गर्ने कार्य प्रभावकारी बनाउने उनले बताइन् ।

त्यस्तै उनले निर्माणाधीन प्रसारणलाइनहरु तोकिएको समयभित्र सम्पन्न गर्न आवश्यक संयन्त्र बनाई कार्यान्वयन गर्ने र अनुगमनको कामलाई तीव्रता दिने जानकारी दिइन् ।

यसै वर्षभित्र ५० ओटा विद्युतीय गाडी चार्जिङ स्टेशन बनाउने तथा हेभी ड्युडीका गाडीबाहेक ऊर्जा मन्त्रालय मातहतका कार्यालयले विद्युतीय गाडी खरिद गर्ने पनि जानाकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here