लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

काठमाडौं, २८ साउन । नेकपा (माओवादी केन्द्र) को संसदीय दलका नेता कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।

प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

अलपमतमा रहेका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा छलफल भइरहँदा उनले राजीनामा दिएका थिए। त्यसपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेका थिए।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको समर्थनमा बिहीबार बिहान केसीले ४२ सांसदसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

८७ सदस्यीय प्रदेश सभामा अहिले ८० सदस्य छन्। जसमध्ये केसीको पक्षमा कांग्रेसका १९, माओवादीका १८, जसपाका तीन र जनमोर्चाका एक जनाले समर्थन गरेका छन्। त्यस्तै, सूर्य चिह्नबाट चुनाव लडेका अजय शाहीले पनि केसीलाई समर्थन जनाएका छन्।

योसँगै केसीको पक्षमा ४२ सांसद पुगेका छन्। सरकार गठनका लागि ४१ सांसद आवश्यक पर्छ। प्रतिपक्षी दल एमालेसँग ३७ जना सांसद रहेका छन् । गठबन्धनले बाँकी रहेको समय आधा-आधा मुख्यमन्त्री बन्ने गरी सहमति गरेको बताइएको छ।

पहिलो ८ महिना माओवादीका केसी मुख्यमन्त्री बनेपछि अर्को ८ महिना नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडिया मुख्यमन्त्री बन्ने सहमति छ। सहमति अनुसार केसीले २०७८ फागुन २ गतेसम्म मात्र सरकारको नेतृत्व गर्ने छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here