काठमाडौं, २९ साउन । सेयर धितो कर्जामा कडाइ गरिएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत् यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकका अनुसार अब एक व्यक्ति वा संस्थाले अधिकतम् १२ करोडसम्म मात्रै सेयर कर्जा पाउनेछन् । जसमा एउटा बैंकबाट ४ करोडसम्म र सबै संस्था गरेर बढीमा १२ करोड रुपैयाँसम्म मात्र ऋण लिन पाउनेछन् ।
यदि हाल कसैले सेयर धितोमा १२ करोडभन्दा धेरै ऋण लिएको भए १ वर्ष भित्रमा त्यस्तो ऋण १२ करोड मुनि झारिसक्नुपर्ने छ।राष्ट्र बैंकको यो व्यवस्थाले साना लगानीकर्तालाई असर नगरे पनि ठूला खेलाडीलाई भने प्रत्यक्ष असर पर्ने देखिन्छ ।
सेयर धितो ऋणमा सीमा तोकेको राष्ट्र बैंकले धितो मूल्यांकनमा भने कुनै फेरबदल गरेको छैन । हालको मूल्यांकनको ७० प्रतिशत ऋण लिन पाइने व्यवस्था यथावत गरेको छ ।
बैंक वित्तीय संस्थाले जस्तै लघुवित्त वित्तीय संस्थाहरुले पनि ऋणपत्र जारी गर्न पाउने भएका छन्। आज सवा चार बजे चालु वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारिले लघुवित्तलाई ऋणपत्र जारी गर्ने अनुमती दिईएको बताएका हुन्।



























