शेयर कर्जा सीमाबारे लगानीकर्ता असन्तुष्ट, अर्थमन्त्री भन्छन्-‘बजार घटाउने गतिविधि हुन दिँदैनौ’

काठमाडौं, ३१ साउन । शेयर बजारसँग सम्बन्धित मौद्रिक नीतिमा व्यवस्था भएका कतिपय प्रावधानमा लगानीकर्ताहरु असन्तुष्ट देखिएका छन्।

नेपाल इन्भेस्टर्स फोरम र शेयर लगानीकर्ता संघको संयुक्त प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मालाई भेट्दै कतिपय प्रावधानहरुका कारण बजारमा नकारात्मक असर पर्ने भन्दै असुन्तष्ट जनाएका हुन् ।

अर्थमन्त्रीलाई भेट्न शेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेल, शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल, नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारलगायतका लगानीकर्ता सिंहदरबार पुगेका थिए।

भेटका क्रममा अर्थमन्त्री शर्माले मौद्रिक नीतिको व्यवस्थाले बजारलाई केही प्रभाव पार्ने देखिएकमा यसलाई संशोधन गर्न सकने बताएको फोरमका अध्यक्ष छोटेलाल रौनियारले जानकारी दिए । लगानीकर्ताको कुरा सुनेपछि अर्थमन्त्री शर्माले यो व्यवस्था कार्यान्वयनका लागि आफूले २ वर्षको समयसीमा दिनेसमेत वचन दिएका छन्।

‘अधिकतम १२ करोडको सेयर धितो कर्जासम्बन्धी व्यवस्थाले बजारलाई कस्तो प्रभाव पार्दो रहेछ, केही दिन हेरौँ’, ‘धेरै प्यानिक भयो भने यो व्यवस्था फिर्ता हुन्छ।’ अर्थमन्त्रीलाई उद्धृत गर्दै उनले भने ।

नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै एक व्यक्ति वा संस्थाले एक बैंक तथा वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँबराबरको मात्र शेयर धितो कर्जा लिन पाउने व्यवस्था गरेको थियो। यो व्यवस्था कार्यान्वयनका लागि निश्चित समय दिइने मौद्रिक नीतिमा उल्लेख छ।

सोही व्यवस्थाका कारण बजारका लगानीकर्ता प्यानिक हुने भन्दै शेयर लगानीकर्ताहरुले अर्थमन्त्री शर्मालाई भेट गरी ज्ञापनपत्रसमेत बुझाएका छन्। आफ्नो लयमा कुदिरहेको बजारलाई राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत निरुत्साहित पार्न खोजेको भन्दै उनीहरुले अधिकतम शेयर धितो कर्जाको सीमासँग सम्बन्धित व्यवस्था खारेज हुनुपर्ने माग गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here