जग्गा किन्दै हुनुहुन्छ ? यी १० कुरामा ध्यान दिनुहोस्

काठमाडौं । मानिसको सपना हुन्छ मेरो जग्गा होस, घर होस, गाडी होस, टन्न बैंक व्यालेन्स होस । यही सपना पुरा गर्नको लागी मानिसहरु रातदिन निकै मेहनतका साथ काम गरिरहेका हुन्छन् ।

यसरी धेरै दुःख गरी कमाएको धन, सम्पती, पैसाको सही सदुपयोग गर्नु आवश्यक छ । त्यसैले जग्गा किन्दा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ ।

पछिल्लो समय काठमाडौं उपत्यकासँगै मुलुकका विभिन्न सहरहरुमा जग्गाको भाउ निकै महंगिएको छ । यस्तो अवस्थामा आफ्नो बजेटसँगै सामान्यभन्दा सामान्य विषयमा पनि उत्तिकै ध्यान दिनु जरुरी हुन्छ । सामान्य कुरामा पनि ध्यान नदिँदा पछि पछुताउनुपर्ने हुन्छ ।

त्यसमा पनि जग्गा दलालको बिगबिगी भएको अहिलेको समयमा आफूले विशेष ध्यान नदिने हो भने फस्ने सम्भावना धेरै हुन्छ । त्यसकारण वर्षौको मेहनत पछि जम्मा भएको पैसाले जग्गा किन्दा विशेष सजग हुनुपर्छ ।

जग्गा खरिद गर्दा आफूले कुन प्रयोजनका लागि खरिद गर्न लागेको हो त्यसमा ध्यान दिन निकै जरुरी हुन्छ । कतिपय अवस्थामा घरजग्गा किनेबेच व्यवसायीसँगको सहकार्यमा जग्गा किन्दा धेरै फस्ने पनि हुन्छ ।

यसको लागि नेपाल सरकार भूमिसुधार तथा व्यवस्था मन्त्रालय नापी विभागले जग्गा खरिददर्ता गर्दा १० वटा कुरालाई विशेष ध्यान दिनुपर्ने बताएको छ । जुन निम्न छन् ।

जग्गा किन्दा ध्यान दिनुपर्ने १० कुरा

१. जग्गा बिक्री गर्ने वास्तविक व्यक्ति पहिचान गरेर सो कित्ता जग्गा निजको हक, भोगमा छ वा छैन् प्रष्ट हुने ।

२. उक्त कित्ताको मोठ श्रेस्ता, फोटो र तीनपुस्ते ठीक भए नभएको एकीन गर्ने ।

३. कुनै अड्डा अदालत वा अन्य कुनै कार्यालयमा रोक्का वा झगडा भए नभएको बारेमा आफू प्रष्ट हुने ।

४. जग्गा र नक्सामा प्रष्टरुपमा बाटो छ वा छैन् राम्ररी बुझ्ने ।

५. जग्गामा गरेको हकभोगको आकार प्रकार मिल्छ वा मिल्दैन एकीन गर्ने ।

६. जग्गा रैकर वा गुठी के हो प्रष्ट हुने ।

७. उक्त जग्गामा मोही भए नभएको फिल्डमा हेरी प्रष्ट हुने ।

८. लालपुर्जा, जमीन र नक्साको क्षेत्रफल मिल्छ मिल्दैन एकीन गर्ने ।

९. उक्त कित्ताको चारैतर्फको सीमानामा विवाद भए नभएको जमीनमा नै गई साँध सँधियारहरुबाट बुझ्ने ।

१०. नक्सा बमोजिमको जमीनमा चारैतर्फ सीमाना एकीन गर्न रेखाङ्कन गराउने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here