तेह्रथुम पावरले भदौ ९ देखि आइपीओ निष्काशन गर्ने

काठमाडौं, ३२ साउन । तेह्रथुम पावर कम्पनीले भदौ ९ गतेदेखि सर्वसाधरणका लागि प्राथमिक सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ जारी गर्ने भएको हो ।

निष्काशन हुन कुल सेयरमध्ये १६ हजार कित्ता आयोजनाका कर्मचारी (२ प्रतिशत) र ४० हजार कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै आइपीओ नबिकेमा ढिलोमा भदौ २३ गतेसम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीले धितोपत्र बोर्डबाट १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आइपीओ विक्री गर्न अनुमति पाएको थियो । जसमा कम्पनीले पहिलो चरणमा साउन ५ देखि आयोजना प्रभावित क्षेत्र तेह्रथुमबासीलाई ४ लाख कित्ता जारी गरिसकेको छ ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआएबीएल एस क्यापिटल रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले औसत भन्दा कम अवस्था जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ ।

कम्पनीले हाल तेह्रथुममा ७.५ मेगावटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल लागत १ अर्ब ३७ करोड ६० लाख रुपैयाँ रहेको छ । यसको प्रतिमेगावट लागत १८ करोड ३० लाख रुपैयाँ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here