नयाँ उद्योग दर्ता र लगानी प्रतिबद्धता घट्यो, उत्पादनमूलक क्षेत्रमा आकर्षण

जितेन्द्र खनाल

काठमाडौं, १ भदौ । चालू आर्थिक वर्षको पहिलो महिना (साउनमा) मा औद्योगिक क्षेत्रको लगानी घटेको छ । उद्योग विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/ ७८ को पहिलो महिनाको तुलनामा चालू आ.व.को पहिलो महिनामा औद्योगिक लगानीमा १५ अर्ब रुपैयाँ बराबरको कमी आएको छ ।

विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/ ७८ साउन १ गतेदेखि भदौ १ गतेसम्म ३५ अर्ब ६० करोडको लगानी प्रतिवद्धता आएकोमा चालू आ.व.को सोही समयमा २० अर्ब १८ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।

विभागको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको सोही समयमा विभिन्न २७ उद्योगमा १ हजार ५०१ जनाले प्रत्यक्ष रोजगारी पाएका थिए ।

विभागको तथ्यांक अनुसार वैदेशिक लगानीमा पनि कमी आएको छ । आ.व. २०७७/७८ साउन १ गतेदेखि भदौ १ गतेसम्म विभिन्न ११ उद्योगमा १ अर्ब ८० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएकोमा यो वर्ष १ अर्ब १५ करोड रुपैयाँ बराबरको मात्रै वैदेशिक लगानी आएको छ ।

अघिल्लो वर्ष सोही समयमा वैदेशिक लगानीका उद्योगमा ५८७ जनाले रोजगारी पाएका थिए ।

चालू आ.व. मा कति उद्योग दर्ता भए ?

चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो एक महिनामा २० अर्ब लगानीका २४ नयाँ उद्योग दर्ता भएका छन् । उद्योग विभागको साउन १ गतेदेखि भदौ १ गतेसम्म विभिन्न २४ उद्योगमा २० अर्ब १८ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।

सबैभन्दा धेरै उत्पादनमूलक क्षेत्रका उद्योगमा लगानी प्रतिवद्धता आएको छ । विभागको तथ्यांक अनुसार एक महिनामा उत्पादनमूलक क्षेत्रमा ८ वटा नयाँ उद्योग दर्ता भएका छन् । जसमा १ अर्ब २१ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको छ ।

उत्पादनमूलक क्षेत्रका उद्योगले १ हजार ४५७ जनालाई प्रत्यक्ष रोजगारी दिने विभागको तथ्यांकले देखाउँछ ।

उर्जामूलक क्षेत्रका ४ उद्योगमा ६ अर्ब १५ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । विभागको तथ्यांक अनुसार उर्जामूलक क्षेत्रका उद्योगले ११० जनालाई प्रत्यक्ष रोजगारी दिनेछ ।

त्यस्तै, सेवामूलक क्षेत्रका ५ उद्योगमा ५५ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको छ भने, पर्यटन क्षेत्रका ४ उद्योगमा ९१ करोड, कृषि तथा वन पैदावर क्षेत्रका २ उद्योगमा ३१ करोड र सूचनामा आधारित क्षेत्रका १ उद्योगमा १५ करोड रुपैयाँको लगानी प्रविद्धता आएको छ ।

२२ सय बढीलाई प्रत्यक्ष रोजगारी

विभिन्न ६ समुहका २४ उद्योगमा आएको लगानी प्रतिवद्धतामा २२ सय भन्दा धेरैले प्रत्यक्ष रुपमा रोजगारी पाउने तथ्यांकले देखाउँछ । विभागको तथ्यांक अनुसार २४ उद्योगमा कुल २ हजार २२३ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् ।

विदेशी लगानीका कति ?

नयाँ आर्थिक वर्षको पहिलो महिनामा विभिन्न तीन समुहका ८ उद्योगमा १ अर्ब १५ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता आएको छ ।

विभागको तथ्यांक अनुसार उक्त समयमा सबैभन्दा धेरै विदेशी लगानी पर्यटन क्षेत्रमा आएको छ । गएको एक महिनामा पर्यटन क्षेत्रका ३ उद्योगमा ७५ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको छ ।

त्यस्तै, सेवामूलक क्षेत्रका ४ उद्योगमा ३५ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ भने उत्पादनमूलक क्षेत्रको १ उद्योगमा ५ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको छ ।

विभागको तथ्यांक अनुसार उक्त ८ उद्योगमा कुल ३९१ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here