सेयर ब्रोकरको चुक्ता पुँजी बढ्दै, ३ करोडदेखि १ अर्ब रुपैयाँसम्मको प्रस्ताव

काठमाडौं ३, भदौं । सेयर ब्रोकरहरुको चुक्ता पुँजी बढ्ने भएको छ । धितोपत्र बोर्डले परिमार्जन गरेको धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा पुँजी वृद्धि पनि समेटिएको छ ।

नियमावली स्वीकृतिका लागि मन्त्रालयमा छ । त्यहाँबाट स्वीकृत भएपछि कार्यान्वयनका लागि निर्देशन जारी हुनेछ । नियमावलीमा प्रदेश र संघमा कार्यक्षेत्र रहर काम गर्ने ब्रोकरकालागि फरक-फरक चुक्ता पुँजीको व्यवस्था छ ।

जसअनुसार प्रदेश स्तरमा ३ करोड देखि २५ करोड रुपैयाँसम्म र संघमा १० करोड देखि १ अर्ब रुपैयाँसम्म चुक्ता पुँजीको व्यवस्था गरिएको छ । नियमावलीका अनुसार धितोपत्र दलालको मात्र काम (सेयर किनबेच मात्र) गर्ने भए प्रदेशमा ३ करोड र संघमा १० करोड रुपैयाँ रुपैयाँ प्रस्ताव गरिएको छ ।

यस्तै, धितोपत्र दलाल र निक्षेप सदस्यको काम गर्ने भए प्रदेशमा १० करोड र संघमा १५ करोड रुपैयाँ पुँजी हुनुपर्नेछ । धितोपत्र दलाल, निक्षेप सदस्य र मार्जिन कारोबारको काम गर्ने भए प्रदेशमा १५ करोड र संघमा ३० करोड रुपैयाँ तोकिएको छ ।

धितोपत्र दलाल, निक्षेप सदस्य, मार्जिन कारोबार र योग्य संस्थागत लगानीकर्ताका रुपमा सेवा गर्ने ब्रोकरलाई प्रदेशमा २५ करोड रुपैयाँ र संघमा ७५ करोड रुपैयाँ चुक्ता पुँजी तोकिएको बताइएको छ ।

संघमा कार्यरत ब्रोकरले माथिका सबै सेवासँगै र धितोपत्र व्यापारी सेवा (स्टक डिलरको) पनि काम गर्ने भए न्यूनतम १ अर्ब रुपैयाँ चुक्तापुँजीको व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

हाल ब्रोकरको चुक्ता पुँजी न्यूनतम २ करोड रुपैयाँ छ । यसअघि संसदको अर्थसमितिद्धारा रामकुमारी झाक्रीको संयोजकत्वमा गठित पुँजी बजार सम्बिन्धी गरेको अध्ययनले पनि ब्रोकरको पुँजी बजाएर १० करोड रुपैयाँ पुर्याउन निर्देशन दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here