धितोपत्र बोर्डका अध्यक्ष र नेप्से प्रमुखलाई कारवाही गर्न अर्थ समितिको निर्देशन

काठमाडौं, ४ भदौं । संसदको अर्थ समितिले सर्वोत्तम सिमेन्टका सेयर कारोबारमा संलग्न धितोपत्र बोर्डका अध्यक्ष र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुखलाई छानविन गरि कारवाही गर्न निर्देशन दिएको छ ।

अर्थ समितिको शुक्रबार बसेको बैठकमा सहभागी सांसदहरुले बोर्ड अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका प्रमुखलाई चन्द्रसिंह साउदलाई छानविन गरि कारवाही गर्न माग निर्देशन दिएको हो ।

सर्वोत्तम सिमेन्टको सेयर ढुंगानाको छोरीको नाममा र साउदको श्रीमतीको नाममा सेयर किनेको भेटिएपछि सांसदहरुले दुवैजनालाई निलम्बन गर्दै कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेका थिए ।

यस्तो छ समितिले दिएको निर्देशन :

१. पुंजी बजारको दिगो विकास र स्थायित्व कायम गर्दै यस क्षेत्रमा स्वच्छता, पारदर्शिता, सदाचार, नैतिकता, साथै जिम्मेवारी र जवाफदेहीता प्रबर्दन गर्न नीतिगत, कानुनी, संरचनात्मक, ब्यबस्थापकीय, प्रविधिगत र कार्यशैलीगत पक्षमा गर्नु पर्ने सुधारको खाका तयार गरि समितिलाई जानकारी गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिने ।

२. नेपाल धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीहरुले पदीय मर्यादा अनुकुल नहुने गरि अनुचित लाभ लिन गरेको भनिएको शेयर कारोबारको समबन्धमा अर्थ मन्त्रलायबाट अध्ययन/छानविन भईरहेको जानकारी माननीय मन्त्रीज्यु र अर्थ सचिव ज्युबाट प्राप्त भएकोले उक्त छानविन यथाशिघ्र सम्पन्न गरी कानुन बमोजिम आवश्यक कारवाही अगाडी बढाउन र सो को जानकारी समितिलाई गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिने ।

बैठकमा सांसद रामबावु यादवले बोल्दै भने ‘निलम्बन नगरी कसरी अनुसन्धान हुन्छ ?, ‘उहाँले अनुसन्धानलाई प्रभावित पार्न सक्नुहुन्छ, त्यसैले निलम्बन गरेर छानविन गर्नुपर्छ ।’

अर्थमन्त्री जनार्दन शर्माले पनि मन्त्रालयले आन्तरिक रुपमा छानविन गरिरहेको र प्रतिवेदनका आधारमा कारवाही गर्ने तयारी भैरहेको जानकारी समिति बैठकमा दिएका थिए ।

मन्त्रालयले सर्वाेत्तमको सेयर खरिदबारे स्पष्ट पार्न भनेको तर त्यसको जवाफ चित्त बुझ्ने नआएपछि पुनः स्पष्टीकरण सोधिएको र सोको जवाफ पनि गतिलो नआएपछि छानविन प्रक्रिया अघि बढाईसकेको मन्त्री शर्माले समिति बैठकमा जानकारी दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here