अफगानिस्तानबाट ५०४ नेपाली आइपुगे, छुटेकासँग सम्पर्क प्रयास जारी

अफगानिस्तानबाट फर्किएका नेपालीलाई सेनाको सहयोगमा व्यवस्थापन गरिंदै । फाइल फोटो । सौजन्यः नेपाल आर्मी ।

काठमाडौं, ५ भदौ । अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरू नेपाल फर्कने प्रक्रिया जारी रहेको परराष्ट्र मन्त्रालयले बताएको छ ।

सनिबार टर्किस एयर तथा जजिरा एयरको नियमित उडानबाट क्रमशः २६ जना र ९ जना गरी जम्मा ३५ जना स्वदेश फर्केका छन् । हालसम्म कूल ५ सय ४ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइगेको मन्त्रालयले जानकारी दिएको छ ।

आगमनपश्चात् अध्यागमन लगायतका आवश्यक प्रक्रिया पूरा गरी सीसीएमसीको समन्वयमा उनीहरुलाई सामाखुसीस्थित नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार कोभिड १९ को परीक्षणलगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको छ ।

त्यसैगरी कन्सुलर सेवा विभागको वेब पोर्टलमा सनिबार सांझ ५ बजेसम्म ३ सय १७ जना नेपालीहरूले आफ्नो विवरण दर्ता गरेका छन् ।

उद्धार हुन बाँकी व्यक्तिहरूको विवरण स्थानगत रूपमा समेत अद्यावधिक गरी उद्धारका लागि हाल उद्धार उडान गरिरहेका मित्रराष्ट्रहरूसँग सहकार्य र समन्वय भैरहेको मन्त्रालयको भनाइ छ ।

सूचीमा समावेस भएका नेपालीहरूसँग परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग तथा नेपाली राजदूतावास, नयाँदिल्लीबाट समेत सम्पर्क भैरहेको र काबुलस्थित सम्पर्क व्यक्तिको रूपमा सहयोग गरिरहेका सुरेशचन्द्र शर्माले समेत उद्धारको पर्खाइमा रहेका नेपालीहरूको उद्धार कार्यमा समन्वय तथा सहजीकरण गरिरहेका छन् ।

अफगानिस्तानमा नै रहेका र आफ्नो नाम दर्ता नगराएकाहरूले आफै वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट https//nepalconsular.gov.np/ अनलाईन पोर्टलमा रहेको नाम सहितको विवरण दर्ता गर्न सक्नेछन् ।

साथै भाइबर र ह्वाट्सएप सुविधा सहितको मोवाइल नम्वरहरू +९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्ट्र मन्त्रालय), +९७७ ९८४१ ७९२७७४ (सिचुएशन रुम, परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन सकिन्छ ।

नाम टिपाएकामध्ये उद्धार भई सुरक्षित गन्तव्यमा पुगेपछि सो को जानकारी ती फोन नम्बरमा गराउन वा अनलाइन पोर्टलमा उल्लेख गर्न सरकारले अनुरोध गरेको छ । ्

गत साता तालीबान विद्रोहीहरुले अफगानिस्तानको सत्ता हातमा लिएपछि त्यहाँ अनिश्चय र भयको वातावरण सिर्जना भएको छ । अमेरिका, युरोपेली मुलुकलगायत सबैले आफ्ना नागरिकहरुको उद्दार गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here