कांग्रेसले क्रियाशील सदस्यता विवाद टुंगियो, देउवा र पौडेलले बुझे प्रतिवेदन

काठमाडौं, ८ भदौं । लामो समयदेखि जारी नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद टुंगिएको छ।

क्रियाशील सदस्यता छानबिन समितिले टुंग्याउन बाँकी विवादबारे पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार बुझेका छन्।

जसअनुसार सप्तरीको क्षेत्र नम्बर १, २ र ४ मा नयाँ क्रियाशील सदस्यता स्थगित गरिएको छ । ती क्षेत्रमा १३औं महाधिवेशनकै क्रियाशीललाई मात्रै मान्यता दिइएको छ ।

क्षेत्र नम्बर ३ का केही वडाका नयाँ क्रियाशील सदस्यहरूलाई पनि महाधिवेशनमा समावेश गर्ने गरी विवाद मिलाइएको छ । क्षेत्र नम्बर ३ मा ४१ वटा वडा छन् ।

यस्तै बारा जिल्लाका क्षेत्र नम्बर १ र ४ मा पनि १३औं महाधिवेशनका क्रियाशील सदस्यले मात्र महाधिवेशनमा सहभागी हुन पाउने भएका छन् ।

ती क्षेत्रबाट सिफारिस भइआएका नयाँ सदस्यतामा भने विवाद नमिले पछि स्थगित गरिएको छ । यस्तै बारा क्षेत्र नम्बर २ र ३ मा पनि केही वडाको सदस्यता स्थगित गरिएको छ ।

यस्तै सर्लाही २ र धनुषा ४ को विवाद भने मिलेको छैन । क्रियाशील सदस्यता छानबिन समितिले टुङ्गो लगाउन बाँकी सदस्यताका विवादका विषयमा नेता कृष्णप्रसाद सिटौलालाई समस्या समाधान गर्न जिम्मेवारी दिएको थियो ।

उनीसँगै नेता डा मिनेन्द्र रिजाल र रमेश लेखक विवाद समाधानका लागि खटेका थिए । छानबिन समितिले केही ठाउँमा बाहेकको क्रियाशील सदस्यता टुङ्ग्याएर साउन १२ गते प्रतिवेदन बुझाएको थियो।

तर छानबिन समितिले बारा र सप्तरी, धनुषा–४ सर्लाही–२ लगायतको नयाँ क्रियाशील सदस्यता र अन्तर पार्टी समायोजनमा चर्को विवाद टुंग्याउने जिम्मा नेतृत्व तहमा पठाएको थियो।

उक्त विवाद टुङ्ग्याउन सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला सम्मिलित उच्चस्तरीय समिति बनाइएको थियो।

उच्चस्तरीय समितिमा सहमहामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र रिजाल र रमेश लेखकलाई सहयोगीका रूपमा राखिएका थियो।

कांग्रेसको १४ औँ महाधिवेशनको नयाँ कार्यतालिकाअनुसार भदौ १८ गते वडा अधिवेशन, २७ गते गाउँ/नगर पालिका, असोज १ गते प्रदेश क्षेत्र क,ख तथा असोज ५ गते संघीय निर्वाचन क्षेत्र, १० गते जिल्ला, कार्तिक १०–१२ प्रदेश र मंसिर ९–१३ केन्द्रीय महाधिवेशन गर्ने उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here