के फेरी कडा निषेधाज्ञा हुन्छ ? यसो भन्छ स्वास्थ्य मन्त्रालय

काठमाडौं । पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । त्यसमा पनि काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या झण्डै ११ हजार छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढ्दै गएपछि जारी गरेको निषेधाज्ञा आज राति १२ बजेबाट सकिँदै छ । यद्यपी सरकारले स्मार्ट लकडाउन सुरु गर्ने यसअघि नै बताईसकेको छ ।

यसैबिच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एउटा सूचना जारी गर्दै स्वास्थ्य मापदण्डलाई बेवास्ता गरे कडा निषेधाज्ञा आउन सक्ने बताएको छ ।

मन्त्रालयको सूचनामा भनिएको छ : ‘पछिल्लो समय कोरोना संक्रमण केही घटेपनि संक्रमण दर भने स्थिर नै छ । तर, निषेधाज्ञा खुकुलो पारिएसंगै स्वास्थ्य मापदण्डको बेवास्ता गर्ने र चाडपर्वको बहानामा विभिन्न स्थानमा भिडभाड गर्ने क्रम बढेको छ ।’

मन्त्रालयले सूचनामा थप भनेको छ : ‘यसले अन्ततः कोरोना संक्रमण बढाउने र त्यसको नियन्त्रणका लागि कडा निषेधाज्ञा गर्नै पर्ने अवस्थामा पुर्याउछ । त्यस्तो अवस्था आउन नदिने दायित्व तपाईं हाम्रै हो । त्यसैले मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, भिडभाड नगर्ने जस्ता जनस्वास्थ्यका मापदण्डको इमान्दारी पूर्वक पालना गरौं ।’

सूचनाको अन्त्यमा भनिएको छ : ‘गरे जनस्वास्थ्यका मापदण्डहरुको बेवास्ता, आउन सक्छ कडा निषेधाज्ञाको अवस्था ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here