नेप्सेका सीइओ चन्द्रसिंह साउदले दिए राजीनामा

काठमाडौं, ८ भदौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । साउदले मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

साउदले नेपालमै पहिलो पटक बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर भित्री रुपमा श्रीमतीको नाममा किनेको सार्वजनिक भएपछि विवादमा तानिएका थिए ।

त्यसपछि साउदलाई अर्थ मन्त्रालयले समेत स्पष्टीकरण सोधेको थियो । साथै, संसदको अर्थ समितिका सदस्यहरुले उनलाई निलम्बन गरी कारवाही गर्न अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।

साउदले पदीय मर्यादा विपरीत कुनै काम नगरेको हुँदा यस सम्बन्धी अनुसन्धान कार्यमा सहयोग पुर्याउनका लागि राजीनामा दिएको बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै उनले नेप्से नियामक निकाय नभएको र सोही अनुसार आफुले पूँजी बजारलाई आफ्नो हातमा लिएर सेयर किनबेच नगरेको बताए । यस्तै आफ्नो ४ बर्षे कार्यकालमा नेपालमा पूँजीबजारमा राम्रो प्रगति भएको बताए ।

विसं २०७४ असोज २३ गतेको मन्त्रिपरिषदको बैठकले निर्णयबाट अर्थबाट प्रस्तावित तीन जनामध्येबाट साउदलाई नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदमा नियूक्त गरेको थियो ।

त्यसअघिका सीइओ सिताराम थपलियाको २०७४ असार तेस्रो साता कार्यकाल सकिएपनि तीन महिनापछि साउन नेप्सेको सीइओ बनेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here