तेह्रथुम पावरको आइपीओमा पहिलो दिनमै १० गुणा बढी आवेदन

काठमाडौं, ९ भदौ । तेह्रथुम पावर कम्पनीको प्राथमिक साधरण शेयर (आइपीओ)मा आवेदनको ओइरो लागेको छ । विक्री खुलेको पहिलो दिनमै १० गुणा बढी आवेदन परेको हो ।

सीडीएससीका अनुसार बुधबार ५ बजेसम्म ५ लाख ४६ हजार ३६८ जनाले ७४ लाख ३९ हजार ४२० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ९.९९ गुणा बढी हो ।

कम्पनीले आजदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।
निष्काशित कुल सेयरमध्ये १६ हजार कित्ता आयोजनाका कर्मचारी (२ प्रतिशत) र ४० हजार कित्ता (५ प्रतिशत)सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै आइपीओ नबिकेमा ढिलोमा भदौ २३ गतेसम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआएबीएल एस क्यापिटल रहेको छ । हाल २८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ पछि चुक्ता पूँजी ४० करोड पुग्नेछ ।

कति कित्ता भर्ने ?

धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँट गर्नुपर्ने हुन्छ। कम्पनीले सर्वसाधरणलाई ७ लाख ४४ हजार कित्ता छुट्याएको छ । सो आधाारमा प्रति आवेदकलाई १० कित्ताले बाँड्दा ७४ हजार ४०० जनालाई मात्र शेयर दिन पुग्छ ।

यसअघि खुलेका आइपीओमा २४ लाख बढीले आवेदन दिँदै आएका छन् । सो आधारमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नु पर्ने देखिन्छ । त्यसअनुसार कम्पनीको आइपीओमा १ हजार रुपैयाँ अर्थात १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here