बागमतीकै शैलीमा फेरिँदै प्रदेश १ को सत्ता,भीम आचार्य संसदीय दलको नेता चयन

काठमाडौं, १० भदौ । प्रदेश १ संसदीय दलको नेतामा नेकपा एमालेका सचिव भीम आचार्य चयन भएका छन्। मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा आचार्य एमाले प्रदेश १ संसदीय दलको नेतामा सर्बतसम्म रुपमा चयन भएका हुन्।

आजै आचार्यलाई नयाँ मुख्यमन्त्री बनाउने एमालेको तयारी छ । काठमाडौंमा रहेका मुख्यमन्त्री राई आचार्यका लागि मार्ग प्रशस्त गर्न बिहानै जहाजबाट विराटनगर गएका थिए ।

आचार्यलाई मुख्यमन्त्री र संसदीय दलको नेता बनाउँदा प्रदेशभरका वहुसंख्यक माधवपक्षीय सदस्यहरु एमालेमै बस्ने र सरकारको नेतृत्व पनि एमालेमै रहने बुझाइका साथ राईले लचकता देखाएका हुन् ।

२०७४ माघ २६ गते एमालेका ५१ सांसदमध्ये शेरधन आचार्यसँग २४ का विरुद्ध २६ मत ल्याएर संसदीय दलको नेता निर्वाचित भएका थिए ।

खोटाङका सांसद राजन राईको मत बदर भएको थियो । साढे तीन वर्ष अगाडि गुटको लाइनमा चुनाव लढेका राई र आचार्य एमाले जोगाउने मुद्दामा भने एक भएका छन् ।

प्रदेश १ मा एमालेका ५१ सांसद रहेका छन् । जसमा ६ देखि ७ जना सांसदहरु नेपाल नेतृत्वको नेकपा समाजवादीमा जान तम्तयार रहेका बताइन्छ। यद्यपि नेपाल पक्षले भने कम्तीमा १३ सांसद आफ्नो पक्षमा खुल्ने बताउँदै आएको छ।

५१ सांसदमध्ये अहिलेसम्म ४ जना नेपालको नेकपा समाजवादीमा खुलिसकेका छन्। प्रदेश सांसदहरु राजन राई, राजेन्द्र राई र गणेश काङमाङ नेपालको नयाँ पार्टीका केन्द्रीय सदस्य भइसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here