तीन पालिकामा अझै पुगेन बैंक, कतिपय जिल्ला नै विकास बैंक र वित्त कम्पनीको पहुँच बाहिर

काठमाडौं, १३ भदौ । देशका कुल ७५३ स्थानीय तहमध्ये ७५० तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तसम्ममा देशका ३ स्थानीय तह मात्रै वाणिज्य बैंक पुग्न सकेको छैनन् । अघिल्लो वर्षको सोही अवधिसम्म देशका ७४७ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा पुगेका थिए ।

राष्ट्र बैंकले २०७७ असार मसान्तसम्म सबै ७५३ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने लक्ष्य लिएको भए पनि अझै त्यो पूरा हुन सकेन ।

राष्ट्र बैंकका अनुसार प्रदेश १, प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका सबै पालिकामा वाणिज्य बैंकका शाखा पुगेका छन् भने वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/एक पालिकामा वाणिज्य बैंकका शाखा पुग्न बाँकी छ ।

वाग्मती प्रदेशको धादिङको रुवी भ्याली गाउँपालिका, कर्णाली प्रदेशमा जाजरकोटको जुनीचाँदे गाउँपालिका र सुदूरपश्चिममा बझाङको साइपाल गाउँपालिकामा वाणिज्य बैंकको शाखा नपुगेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैैंकको तथ्यांकअनुसार यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या कात्तिक मसान्तमा १३३ कायम भएको छ । जसमा २७ वाणिज्य बैंक, १८ विकास बैंक, १७ वित्त कम्पनी, ७० लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन्।

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९७६५ रहेकोमा २०७८ असार मसान्तमा १० हजार ६८३ पुगेका छन् । जसमा सबैभन्दा धेरै वाणिज्य बैंकका ४ हजार ७५३ वटा रहेका छन् । यस्तै, लघुवित्त वित्तीय संस्था ४ हजार ६८५, विकास बैंक १ हजार २३ वटा र फाइनान्स कम्पनीका २२२ वटा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here