तीन वर्षमा २०० प्रतिशत बढ्यो एप्पलको शेयर, सीइओ कुकलाई ७५ करोड डलर बोनस

काठमाडौं । अमेरिकी टेक निर्माता कम्पनी एप्पलमा कम्पनीको प्रमुख कार्यकारी (सीइओ) का रूपमा १० वर्ष पूरा गरेका टीम कुकलाई कम्पनीले ५० लाख कित्ता शेयर बोनस दिएको छ ।

यूएस सेक्यूरीटीज एन्ड एक्सचेन्ज कमीशनमा शेयर कारोबारको जानकारी दिने एक कम्पनीका अनुसार कुकले तीमध्ये अधिकांश शेयर लगभग ७५ करोड अमेरिकी डलरभन्दा बढी रकममा बेचेका छन् ।

उनलाई दिइएको शेयर एप्पलका संस्थापक स्टीभ जबबाट कम्पनीको नेतृत्व सम्हाल्दा गरिएको सहमतिअनुसार भएको बताइएको छ ।

सहमतिमा उनलाई एप्पलको शेयरले अन्य ठूला कम्पनीको प्रतिस्पर्धामा गरेको प्रगतिको आधारमा शेयर दिइने उल्लेख थियो ।

एप्पलका अनुसार गत तीन वर्षमा कम्पनीको शेयर मूल्य १९१.८३ प्रतिशतले वृद्धि भएका कारण उनले सो सङ्ख्यामा शेयर प्राप्त गरेका हुन् ।

एप्पलको शेयर मूल्य सन् २०११ मा उनी प्रमुख कार्यकारी हुँदाको तुलनामा १,२०० प्रतिशतले बढेको छ ।

आईफोन, आईप्याड र म्याकबुक निर्माता कम्पनीको कुल मूल्य अहिले लगभग २५ खर्ब अमेरिकी डलर बराबर छ ।

यूएस सेक्यूरीटीज एन्ड एक्सचेन्ज कमीशनमा प्रस्तुत कागजातमा कुकले यो साता करिब एक करोड अमेरिकी डलर बराबरको शेयर परोपकारी संस्थालाई दान गरेको लेखिएको छ। प्रापक संस्थाको नाम भने उल्लेख छैन ।

सन् २०१५ मा कुकले मृत्युअघि आफ्नो सबै सम्पत्ति दान गर्ने बताएका थिए। उनी परोपकारी कार्यमा करोडौँ दान गर्ने व्यक्तिमध्ये पर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here