कमजोर बन्दै मनसुन, चार दिनमा १२ को मृत्यु, ३ जना बेपत्ता

फाइलफोटो

काठमाडौं, १४ भदौ । गत केही दिन यतादेखि सक्रिय रहेको मनसुन क्रमशः कमजोर हुँदै जाने भएको छ ।

पूर्वी तराईको भूभाग नजिक रहेको मनसुनको न्यून चापीय रेखा आजदेखि नेपालबाट बाहिरिने क्रम सुरुवात भएसँगै मनसुन विस्तारै कमजोर हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशको अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै लुम्बिनी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको औँल्याएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २१ दशमलव तीन डिग्री सेल्सियस छ ।

त्यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १४ दशमलव दुई डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३० दशमलव चार डिग्री सेल्सियस छ ।

मनसुन पुन सक्रियभएसँगै बितेका चार दिनको अवधिमा बाढीपहिरोमा परेर नेपालमा १२ जनाले ज्यान गुमाएका छन्।

यस अवधिमा तीन जना बाढीपहिरोमा बेपत्ता भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

बाढीपहिरोमा परेर ९ जना घाइते भएका छन्। गएको बिहीबारदेखि आइतबार सम्म बाढीपहिरोको कारण देशभर ९० हजारभन्दा धेरै मानिस प्रभावित भएका छन्।

वर्षाले रुपन्देही, नवलपरासी, कपिलवस्तु, कैलाली, बाँके, दाङ, काभ्रे, सुर्खेत, पाल्पा, सिन्धुपाल्चोक, दार्चुला, बझाङ, उदयपुर, सिरहा, सर्लाही, रौतहट, धनुषा, झापा, सुनसरी, सप्तरी लगायतका जिल्लामा बढी असर गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here