अमेरिकी सैनिकले छोडे अफगानिस्तान, तालिबानले मनाए मेसिनगन पड्काएर खुसियाली

एजेन्सी । अमेरिकाले झण्डै २० वर्षपछि पूर्णरुपमा अफगानिस्तान छाेडेको छ । तोकिएको समय सीमा अनुसार नै अगस्ट ३१ का दिन आफ्नो अन्तिम सैनिक टोलीले काबुल छोडेको अमेरिकी सेनाले जनाएको छ ।

योसँगै सन् २००१ देखि अफगानिस्तानमा अमेरिकाले सुरु गरेको सैन्य अभियानको अन्त्य भएको छ । यस्तै विगत दुई हप्तादेखि काबुलबाट भइरहेको उद्धार कार्य पनि अन्त्य भएको अमेरिकाले उल्लेख गरेको छ ।

काबुलस्थित अमेरिकी राजदूत रस विल्सन र त्यहाँ रहेका अमेरिकी कमान्डर जनरल क्रिश डोनाह्यु अन्तिम उद्धार उडानमा सहभागी भएको बताइएको छ। उक्त फौज फिर्ता अभियानको सुपरिवेक्षण गरेका जनेरल फ्र्याङ्क मकेन्जीले अमेरिकाले पछिल्ला केही सातामा झन्डै ८० हजार मानिसको उद्धार गरेको समेत बताए।

अमेरिकी सेनाका सेन्ट्रल कमाण्डका प्रमुख जनरल मकेन्जीले भने: “हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम सी सेभेन्टीन विमान उडेको छ।

योसँगै सैन्य उद्धारको पाटोका साथै २० वर्षदेखिको अफगानिस्तान मिसन समाप्त भएको छ। जुन मिसन सन् २००१ को सेप्टेम्बर ११ लगत्तै सुरु भएको थियो र जस अन्तर्गत ओसामा विन लादेन तथा उनका थुप्रै अल कायदा षडयन्त्रकारीहरूमाथि कारबाही भएका थिए।”

उनले अफगानिस्तानमा अमेरिकी उपस्थितिका कारण उच्च मूल्य चुकाउनुपरेको र दुई दशकमा २४ सय जना अमेरिकी सुरक्षाकर्मीले ज्यान गुमाएको बताए।

अन्तिम अमेरिकी विमान बाहिरिएसँगै, तालिबानहरूले काबुलको रात्रिकालीन आकाशमा रातो प्रकाश छरेर मेसिन गनमार्फत गोली चलाएर खुशीयाली मनाएका छन्।

यसअघि नै अमेरिकी राष्ट्रपति जो बाइडनले अगष्ट ३१ भित्र अमेरिकाबाट फौज फिर्ता गर्ने बताएका थिए। पछिल्लो दुई हप्ताभन्दा थोरै बढी अवधिमा अमेरिकी, अरू विदेशी र अफगान गरी लगभग १ लाख २० हजार जनालाई उद्धार गरिएको थियो। यसैबीच अमेरिकी राष्ट्रपति बाइडनले फौज फिर्तीबारे मंगलबार अमेरिकी जनतालाई सम्बोधन गर्दैछन्।

अमेरिकी सेना पूर्णरुपमा फिर्ता भएसँगै अब काबुल विमानस्थललाई तालिबानले आफ्नो हातमा लिने छ । तालिबानले अब विमानस्थलमा व्यापारिक उडानको शुरुवात गर्ने र कागजात भएका व्यक्ति देशबाहिर जान पाउने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here