काठमाडौंको फोहोर बुधबारदेखि उठ्ने, अवरोध गर्न खोजे बल प्रयोग

फाइलफोटो

काठमाडौँ, १५ भदौ । बुधबारदेखि काठमाडौँको फोहोर संकलन कार्य नियमित हुने भएको छ । भोलि विहान ६ बजेदेखि काठमाडौँ महानगरसहित उपत्यकाका सडक र चोकमा थुप्रिएको फोहोर संकलन हुने भएको हो ।

मंगलबार काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहलगायत अधिकारीकोे बैठकले यस्तो निर्णय गरेको हो ।

सडक भत्किनु प्राविधिक कारणले साइटमा फोहोर लैजान कठिनाइ भइरहेको थियो । यही अवस्थामा ककनी गाउँपालिका वडा १ की एकजना ७० बर्षिया वृद्धाको भदौ ६ गते मृत्यु भयो । उनको मृत्यु हैजाको कारण भएको जनाउँदै स्थानीयले भदौ १० गतेदेखि साइटमा फोहोर लैजान अवरोध गर्दै आएका छन् ।

हैजाको एकिन गर्न महानगरबाट सम्भावित क्षेत्रका ५ जना व्यक्तिको दिशा र ४ वटा परिवारले पिउने गरेको पानीको नमूना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराइसकेको छ । प्रयोगशालाबाट प्राप्त रिपोर्टले त्यस क्षेत्रमा हैजाका जीवाणु नभेटिएको देखाएको छ ।

‘लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदुषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेका छौँ ।’ महानगरपालिकाका प्रमुख शाक्यले भने, ‘स्थानीय समस्या समाधान गर्ने काम निरन्तर हुनेछ ।

हामीले समाधान गर्न नसक्ने समस्या भए सम्वन्धित निकायसँग समाधानका लागि पहल गर्छौैँ । तर, लामो समयसम्म फोहोर रोकेर समस्या बढाउने काम हुँदैन । स्थानीय जीवन र वातावरणलाई असर नपार्ने गरी भोलिदेखि फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापनको काम नियमित हुनेछ ।

हामीले यस अघि पनि स्थानीयले उठाएका जायज माग पूरा गरेका छौँ । अहिले पनि जायज माग पूरा गराउन प्रतिवद्ध छौँ । यसका लागि सबै पक्षबाट सकारात्मक सहयोगको अपेक्षा गरेका छौँ ।’

‘सिसडोलमा फोहोर व्यवस्थापनकोे काम ०६२ सालदेखि हुँदै आएको छ । ल्याण्डफिल साइटमा पूर्वाधार बनाउने जिम्मेवारी हामीसँग छैन । हामी फोहोर संकलन गर्छौँ । ढुवानी गर्छौँ । र सरकारले दिएको साइटमा लगेर अन्तिम व्यवस्थापन गर्छौँ ।

शाक्यले भने, ‘सबैले आफ्ना—आफ्ना जिम्मेवारी पूरा गरे मात्र फोहोर व्यवस्थापन नियमित हुन्छ । यसका लागि स्थानीयबासी, व्यवस्थापनमा जिम्मेवार सम्बद्ध कार्यालयदेखि प्रधानमन्त्रीसम्म पनि हामीले अवस्थाका विषयमा जानकारी गराएर समन्वयको प्रयास गरिरहेका छौँ ।’

बैठकमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले, फोहोर व्यवस्थापन कार्य अत्यावश्यक सेवा भएकोले अवरोध नहुने विश्वाश व्यक्त गरे ।
बैठकले गरेका अन्य निर्णयहरुमा साइटमा पुग्ने सडक बनाउन महानगर र सडक विभागले सहकार्य गर्ने, गृह प्रशासनले शान्ति सुरक्षाको प्रबन्ध मिलाउने लगायत छन् ।

बैठकमा सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले, फोहोर व्यवस्थापनका लागि विभागले उदार भएर स्रोत, क्षमता र उपकरण परिचालन गर्ने बताए ।

छलफलमा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, सडक विभागका सुपरिटेन्डेन्ट इञ्जिनियर कैलाशकुमार श्रेष्ठ, सडक डिभिजन काठमाडौँका प्रमुख कुवेर नेपालीसहित वातावरण व्यवस्थापन विभागका अधिकारीहरु सहभागी थिए ।

फोहोर व्यवस्थापनका विषयमा हिजो महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सहजीकरणका लागि अनुरोध गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here