सम्पत्ति शुद्धिकरणमा चनाखो बन्न शेयर ब्रोकरलाई सेबोनको निर्देशन

काठमाडौं, ८ असार । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले शेयर बजारमा शंकास्पद लगानी हुन नदिन तथा यसको जोखिमबाट बच्न धितोपत्र व्यवसायीहरु अझ सक्रिय र चनाखो बन्न र शंका लागेका कारोबारका बारेमा समयमा नै सम्बद्ध निकायमा रिपोर्टिङ गर्न निर्देशन दिएका छन् ।

बोर्डले हालै जारी गरेको निर्देशनले धितोपत्र बजारमा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा ऐनले निर्दिष्ट गरेको व्यवस्थाहरुलाई कार्यान्वयन गर्नमा व्यवसायीको महत्वपूर्ण भूमिका रहने पनि उनले बताएका छन् ।

‘यसले धितोपत्र व्यवसायी, नियमनकारी निकाय लगायत देशलाई नै समग्र रुपमा फाइदा पुग्ने छ’, सम्पत्ति शुद्धिकरण निवारणमा धितोपत्र व्यवसायीको भूमिका सम्बन्धमा अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. कार्कीले भने ।

बोर्डका कार्यकारी निर्देशक निरज गिरीले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा बोर्डले विशेष जोड दिएको र यसको पालनको लागि धितोपत्र व्यवसायीहरु तत्पर हुनुपर्ने बताए ।

साथै धितोपत्र व्यवसायीहरुले शकांस्पद कारोबारको विषयमा सम्बन्धित निकायमा समयमा नै जानकारी नगरे १० लाख रुपैयाँ देखि ५ करोड रुपैयाँसम्म जरिवाना तिनुपर्ने भएकोले सो जरिवानाबाट बच्न तथा अनुसन्धान कार्यमा सहयोग गर्न धितोपत्र व्यवसायीहरुले ग्राहकको स्पष्ट पहिचान राख्नुको साथै सीमाभन्दा बढीको कारोबार तथा शंकास्पद कारोबारको विवरण तोकिएको समयमा नै सम्बन्धित निकायमा पेश गर्न पनि उनले आग्रह गरे ।

सम्पत्ति शुद्धीकरण (मनि लन्डरिङ) निवारण ऐन, २०६४ मा संशोधन भई नियमनकारी निकायहरुलाई थप जिम्मेवार बनाइएको परिप्रेक्ष्यमा धितोपत्र व्यवसायमा संलग्न सवै धितोपत्र व्यवसायीलाई जिम्मेवार वनाई सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीलाई दुरुत्साहन तथा नियन्त्रण गर्न बोर्डले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०७६ हालै जारी गरेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र वित्तीय जानकारी इकाई (नेपाल राष्ट्र बैंक)को सहयोग तथा समन्वयमा बोर्डले सो कार्यक्रमको आयोजना गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here