एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाट निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने

काठमाडौं, १७ भदौ । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने भएको छ ।

भदौ १६ देखि कार्तिक १४ सम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहकले एनआईसी एशिया मोबैंक प्रयोग गरी एक ठाउँबाट अर्को ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नेछन् ।

यस योजना अन्तर्गत ग्राहकहरूले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो एनआईसी एशिया मोबैंक बाट रेमिट रकम सहज रुपमा पठाउन सक्नेछन् ।

एनआईसी एशिया मोबाइल बैंकिङ भित्र रहेको सेन्ड रेमिट आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सकिने छ ।

यस माध्यमबाट पठाएको रकम देशभर रहेका बैंकका सम्पूणर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ ।

कोभिड-१९ को महामारीको समयमा डिजिटल कारोबार गर्नुपर्ने अहिलेको आवश्यकतालाई बैंकले ल्याएको यस योजनाबाट ग्राहकलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिट्यान्स पठाउनुपर्ने झन्झबाट मुक्ति मिल्नुका साथै समयको बचत भई महामारीका बीच भौतिक दुरी कायम गर्न समेत सहयोग मिल्ने विश्वास बैंकले लिएको छ ।

बैंकले मुलुकभर रहेका ३५६ शाखा कार्यालयहरू, ४७२ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here