काठमाडौं, १७ भदौं । नेपालमा जीवन बीमालेखको संख्या ८५ लाख नाघेको छ । बीमा समितिको तथ्यांक अनुसार गत आवको साउन महिनासम्ममा जीवन बीमालेखको संख्या ८५ लाख ८७ हजार ४४ पुगेको हो ।
यो संख्या अघिल्लो वर्षको तुलनामा ८ प्रतिशत बढेको हो । २०७७ को साउन मसान्तसम्ममा ७९ लाख २१ हजार ७७५ रहेको समितिले तथ्यांकमा उल्लेख छ । यो संख्या जीवन बीमालेख र वैदेशिक रोजगार बीमालेख सहितको हो ।
जीवन बीमा लेखको संख्या बढेको भएपनि कोरोना महामारीको कारण वैदेशिक रोजगार रोकिएकाले वैदेशिक रोजगार बीमालेखको संख्या भने घटेको छ ।
एक वर्षको अन्तरमा जीवन बीमालेखको संख्या १३. ४३ प्रतिशतले बढेको छ । साउन मसान्तसम्मा ८० लाख ९ हजार ६३४ बीमालेख जारी भएको छ ।
समितिको तथ्यांकअनसार अझै पनि ७४ प्रतिशत नेपाली बीमाको दायराबाहिर छन् ।
शाखा विस्तार १० प्रतिशतले बढ्यो
बीमा कम्पनीहरूको शाखा संख्या १० प्रतिशतले वृद्धि भएको छ । गत आवको साउन मसान्तसम्मा बीमा कम्पनीहरूको शाखा कार्यालय संख्या ३ हजार ६१ वटा पुगेका छ ।
७७ साउन मसान्तसम्म बीमा कम्पनीहरूको कार्यालय संख्या २ हजार ७ सय ७१ रहेको थियो । बीमा सेवा विस्तार भएपछि कुल ग्रार्हस्थ्य उत्पादन ९जीडीपी० मा पनि बीमाक्षेत्रको योगदान बढ्दै गएको छ ।
त्यस्तै, यो साउन मसान्तसम्मा बीमाक्षेत्रमा काम गर्ने कर्मचारी संख्या १० हजार ८ सय ६५ पुगेको छ । अघिल्लो वर्षको तुलनामा ७ प्रतिशतले वृद्धि हो ।
नेपालमा जीवन बीमा, कृषि, उद्योग कलकारखाना, सवारी साधन र घरजग्गाको बीमा धेरै हुने गरेको समितिको तथ्यांक छ ।
स्थानीय तहमा बीमाको पहुँच धेरै कम भएको समितिले जनाएको छ । धेरै ग्रामीण भेगका स्थानीय निकायमा बीमा कम्पनी खोलिएको छैन । जसका कारण स्थानीय निकायका नागरिक बीमाका विषयमा अनभिज्ञ हुने गरेको पाइन्छ ।
सरकारले स्थानीय तहमा पनि कृषि, पशुपालन, घरजग्गा र अन्य व्यवसायका विषयमा अनिवार्य बीमाको दायरामा ल्याउन प्रयास भइरहेको छ ।
ग्रामीण भेगका नागरिक अहिले पनि बीमाका विषयमा जानकार छैनन् । सरकारले सबै नेपाली नागरिकलाई बीमाको पहुँचमा ल्याउने उद्देश्यले २०४९ सालमा बीमा समिति स्थापना गरेको थियो ।