काठमाडौं, १८ भदौ । एमाले उपाध्यक्ष भीम रावलले सरकारले एमसीसी सम्झौता अघि बढाउन षड्यन्त्र गरिरहेको बताएका छन् ।
शुक्रबार रावलले सामाजिक सञ्जाल ट्वीटर मार्फत एमसीसी उपाध्यक्षलाई नेपाल बोलाएर सरकारले एमसीसी सम्झौता अघि बढाउन लागेको बताएका हुन् ।
देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश वर्तमान सरकारलाई प्राप्त नभएको उल्लेख गर्दै उनले लेखेका छन्, ‘नेपालमा द्वन्द्वपछि अस्थिर राजनीतिक स्थितिमा एमससी सम्झौताको चाँजो मिलाइयो । फेरि अहिले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र हुँदैछ। सरकार जनअनुमोदित होइन ।’
आगामी साता आउने एमसीसीकी उपाध्यक्ष फतेमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्यतालिका छ ।